धरान: फागुन १७ गतेदेखि धरान ८ स्थित सभागृहमा नाटक कुमार मामा दैनिकरुपमा मञ्चन भइरहेको छ । 

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्षसमेत रहेका साहित्यकार जनकऋषि राईको कथासंग्रह बस्तीभित्रको कथा कुमार मामालाई नाट्य रुपान्तर गरिएको हो । हरेक दिन दिउँसो साढे ४ बजे मञ्चन भइरहेको नाटक कुमार मामा बिहिबार र शुक्रबार भने मञ्चन भएन । यी दुई दिन सभागृहमा फरक दृष्य मञ्चन भयो ।

नाटक मञ्चन हुने समयमा मञ्चमा रंगकर्मीहरु थिएनन् । बिहिबार कवि, कवियित्रीहरु नाटकको सेटमा पुगे, र कुमार मामालाई कवितामार्फत सुनाए । यस्तै, शुक्रबार पनि चित्रकारहरुले कुमार मामालाई क्यानभासमा उतारे । बिहिबार कविहरु सुदिप पाख्रिन, इन्दु योञ्जन, पराजित पोमु, तीर्थ विश्वकर्मा, विशाल नाल्बो, कुमार प्रधान कल्पित, विरेन सुब्बा, छविना लुंगेली मगर र दिपा मग्रातीले कविता वाचन गरेका थिए । केही दिनअघि नाटक हेरिसकेका कविहरुले आफ्नो प्रतिक्रियालाई कवितामार्फत प्रस्तुत गरेका थिए ।

sudeep pakhrin

यस्तै, शुक्रबार चित्रकार महेन्द्र राई, प्रनोद दत्त र हरिलाल उदासले पनि नाटक कुमार मामालाई आधारित बनाएर क्यानभास रंगाएका थिए । दुई दिन कविता र क्यानभासमा सृर्जना भएको नाटक कुमार मामा शनिबारदेखि भने नियमितरुपमा मञ्चन हुने निर्देशक विष्णु मोक्तानले जानकारी दिए । 

आफ्नो गाउँबाट छोडेर सहर पसेका युवाको कथा हो, कुमार मामा । उनी प्रतिनिधि पात्र हुन्, जसले समग्र देशका युवाहरुको कथा बोलेका छन् । देशको मुहार र्फेन राजनीति र जनयुद्धमा होमिएका युवाहरुले व्यवस्था वदलिएपनि अवस्था नवदलिएपछि निराश छन् । बेराजगारीको पीडाले युवाहरु आह्त छन् । थातथलो छोडेर सहर भासिए पनि मनभरि गाउँको माया, आफ्नो सँस्कृतिलाई भने भुल्न नसकेका भुँईमान्छेहरुको कथा सुन्दरढंगले कुमार मामाले बोल्छ । 

kumar

थुप्रै अभावहरुका बीच पनि निर्देशक मोक्तानले नाटकलाई उत्कृष्टरुपमा पस्किएका छन् । प्रकाश र पाश्र्व संगीतको प्रबन्धले नाटकको सौन्दर्य थप बढाएको छ । कलाकाहरुको स्वभाविक संवाद र अभिनय तारिफयोग्य छ । कलाकालहरु विष्णु मोक्तान, उदय बेघा लिम्बु, सजेष्ट घायल राई, विकास कुलुङ, मानबहादुर राई, दिपेन्द्र राई, एलिना रुम्दाली, करिश्मा क्षेत्री र एञ्जल तामाङ मञ्चमा देखिनेछन् ।

भिडियो: