धरान: कोशी प्रदेश नाम खारेजीको माग र मुद्दालाई स्थापित गराउन आन्दोलनरत प्रदेश न. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री, सभामुख र संघीय दलका नेताहरुलाई चेतावनी पत्र दिने भएको छ ।
संघर्ष समितिको भर्चुअल जुम बैठकले चैत २५ गतेको दिन चेतावनी पत्र दिने निर्णय गरेको हो । सोही बैठकले चैत २१ देखि २७ सम्म जिल्ला, गाउँनगर र वडा तहसम्म संघर्ष समिति गठन र जागरण अभियान संचालन गर्ने पनि बैठकले निर्णय गरेको संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए । उनका अनुसार संघर्ष समितिको समन्वय र अध्यक्षता आलोपालो वा आपसी सल्लाह अनुसार गर्ने पनि बैठकले निर्णय छ।
यसैगरि, कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरमा भएको आन्दोलनको क्रममा घाइते भई ज्यान गुमाएका पदम लिम्बु (लाजेहाङ) को परिवारलाई आर्थिक सहयोग जुटाउन परिवारको सदस्यसहितको संयुक्त खाता खोलिने भएको छ । जुम बैठकले आन्दोलनको क्रममा साहदत भएका लाजेहाङको आमा, बहिनी र एक जना स्थानीय घटकको एक प्रतिनिधिको नाममा संयुक्त खाता खोल्ने निर्णय गरेको इजमले जानकारी दिए । उक्त खाता सञ्चालन गर्दा आमाको अनिवार्य दस्तखत हुनुपर्ने पनि निर्णय भएको आन्दोलनरत संघीय लिम्बुवान राष्ट्रिय मञ्चका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए ।
यसैगरि, कोशी नाम खारेजी, पुन नामकरण र सहिद घोषणा शिर्षकमा चैत २० देखि २७ सम्म प्रत्येक दिन बेलुकी ७ बजे पछि संघर्ष समितिको घटकहरुले भर्चुअल कार्यक्रमको आयोजना गर्ने पनि बैठकले निर्णय गरेको छ । चैत २० गते जसपा लिम्बुवान राष्टिय समिति, चैत २१ गते नेकपा माओवादी लिम्बुवान राष्टिय मुक्ति मोर्चा, चैत २२ गते संघीय लोकतान्त्रिक राष्टिय मंच, चैत २३ गते नेकपा एस सम्बद्ध लिम्बू संघ, चैत २४ गते राष्ट्रिय जनमुक्ति पार्टी सहितको ६ घटक, चैत २५ मा जसपा निकट किरात राष्ट्रिय समिति, चैत २६ गते जसपा निकट सेर्पालुङ राष्ट्रिय समिति, चैत २७ गते जसपा निकट सिल्पि राष्ट्रिय समिति र चैत २८ गते नेकपा माओवादी केन्द्र निकट किराती राष्ट्रिय मुक्ति मोर्चाले कार्यक्रम गर्नेछ ।
राजनीतिक पार्टीहरुसंग माग र मुद्दाको लबिङको लागि संघर्ष समितिका घटकहरुको अध्यक्षहरुले समन्वयको जिम्मेवारी लिने पनि बैठकले निर्णय गरेको छ ।आन्दोलन सम्बन्धि अपिल किरात याक्थुम चुम्लुङले तयार गर्नेछ भने प्रदेशको तराई क्षेत्रमा रहेका आदिवासी समुदायसंग अन्तरक्रिया गर्ने जिम्मा किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेलीलाई दिने बैठकले निर्णय गरेको छ ।