धरान: मेयर हर्क साम्पाङले वडाअध्यक्षहरु कार्यपालिका बैठकमा नआउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।
सोमबार कार्यपालिका बैठकमा वडाअध्यक्षहरु अनुपस्थित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मेयर साम्पाङले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘बैठकमा नआउनुपर्ने कारण केही छैन, बहिष्कार गर्नुपर्ने कुराहरु, आन्दोलनमा उत्रने कुराहरु केही छैन,’ उनले भने, ‘विगत विगत हो, सकियो । आउने दिनमा के गर्ने भनेर सोच्ने बेला हो ।’
मेयर साम्पाङले सबै मिलेर नै धरान बनाउने भनेर आएको र जनताले पनि चुनेको उल्लेख गर्दै निवार्चित भएपछि कुनै दल बिशेषको नभै सबै जनताको प्रतिनिधि भएको बताए । जनप्रतिनिधिहरु देशको विकास, सुशासनसँग जोडिएर आफ्नो भुमिकामा हुनुपर्ने भएपनि पहिलो बैठकदेखि नै केहीमा त्यो भुमिका नदेखिएको पनि उनले बताए । ‘म सबैलाई भन्दिनमा केहीमा मेयर एक्लै हो, अरु एक साइडमा हो भन्ने छ,’उनले भने ।
धरानलाई सुशासन र विकास दिने भनेर आएपनि अहिले कुन पार्टीले के भन्छ भन्नेतिर लागेको भन्दै उनले असन्तुष्टी जनाए । मिलन विन्दुमा आउनुपर्छ भनेर कुरा गरेपनि वडाको अधिकार खोसियो भन्ने दुःखेसो वडाअध्यक्षहरुले गरेको मेयर साम्पाङले बताए । उनले भने,‘वडाको अधिकार पनि खोस्यो भन्नुहुन्छ, मैले कसरी खोसे ? पानी, विजुलीको सिफारिश उहाँहरुले नै गरिरहनुभएको छ, तर हाम्रो नगर प्रहरीले गएर कहाँ घर बन्दैछ त ? एलनी जग्गामा घर बन्ने सिफारिश आइरहेको छ कि ? भनेर हेर्ने मात्र हो ।’
वडाअध्यक्षहरुको अनुपस्थितिले सोमबार बैठक बस्न नसकेपछि मेयर साम्पाङले मंगलबार दिउँसो २ बजेको लागी पुनः बैठक आह्वान गरेका छन् । मंगलबार पनि बैठक बस्न नसके पुनः बुधबार पनि बैठक बोलाउने उनले बताएका छन् ।