धरान: नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष केशव घिमिरेले राजनैतिक दललाई छोडेर धराने जनताले किन हर्क साम्पाङलाई रुचायो भनेर मुल्यांकन गर्न सुझाव दिएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा पत्रकार महासंघले धरानमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै पुर्वअध्यक्ष घिमिरेले यस्तो सुझाव दिएका हुन् । उनले विगतमा सर्दु जलाधार क्षेत्र बेचेर खाने, आइयुडिपीमा कमिशन लिने जस्ता विकृति, विसंगतिहरुको जिम्मा लिएर राजनैनिक दलहरु आत्मालोचित हुनपर्ने पनि बताए । ‘हामीले गल्ती गर्यौं, अब त्यो गल्ती दोहोर्याउदैनौं भनेर श्वेतपत्र जारी गर्नुपर्छ, अनि मात्र जनताले विश्वास गर्छन्,’घिमिरेले भने,‘नत्र भने जनताले १० बर्षसम्म हर्क साम्पाङ जिताउछौं भनिसके, तपाईहरु पछि पर्नुहुन्छ, र उनको पछि हिड्नुपर्ने हुन्छ ।’

राजनैतिक दलहरुलाई अहिले हर्क साम्पाङले प्रहार गर्न थालेपछि मात्र चेत खुलेको भन्दै उनले अझ अघि नै चेत खुल्नुपर्ने पनि बताए । यद्यपी उनले मेयर साम्पाङको कार्यशैलीको पनि कडा आलोचना गरे । ‘अलि अगाडि नै चेत खुल्नुपथ्र्यो । जनताले किन तपाईहरुलाई छोडेर हर्क साम्पाङलाई रुचायो ? यसको मुल्यांकन गर्नुभएको छ ?’ उनले दलका नेताहरुलाई प्रश्न गरे ।

विगतमा पनि मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी हुँदा पत्रकारहरुले प्रताडना भोगेको र अनुहार हेरेर व्यवहार भएको पुर्वअध्यक्ष घिमिरेले बताए । लोकतन्त्र आफ्नो अनुकुल मात्र नहुने भन्दै उनले दलहरु सच्चिएर आएमात्र मिडियाले पनि सहकार्य गर्ने धारणा राखे । ‘मिडियाले सहकार्य गर्छ, तर तपाईहरु सच्चिएर आउनुपर्छ । यो यो ठाउँमा गल्ती गर्यौ भन्नुपर्छ,’ उनले भने ।

ज्ञानेन्द्र साहले हल्लाउन नसकेको मिडियालाई ५ बर्षको लागि आएका हर्क साम्पाङले केही गर्न नसक्ने उनले जिकिर गरे । तर, मिडियाले पनि प्रमाणित कुरा मात्र लेख्नुपर्ने बताए । मेयरको कार्यकाल सकिदै गर्दा तिलक राईले खानेपानी बोर्डमा ७ करोड हाराहारी खातामा र ५ करोड उठ्न बाँकी रकम छोडेको तर अहिले बोर्डमा सामान्य खर्च गर्न पनि नगरपालिकासँग सापटी माग्नु परिरहेको उनले बताए ।

‘मिटिंग हुदैन, छलफल हुदैन, बोर्डको अध्यक्ष को हो थाहा छैन, बोर्डको पैसा कसरी सकियो ? श्रमदान अभियानमा, पाइपमा पैसा गएको हो त ? नगरपालिकाको आन्तरिक खर्च कसरी चलिरहेको छ ? यो बिषयमा खोजी समाचार हुनसक्छ,’उनले थपे,‘हर्क साम्पाङ आएपछि भ्रष्टचार बढेको छ, कमिशन र पैसा नबुझाई शाखा, महाशाखामा काम हुदै हुदैन हिजो त्यस्तो थिएन । तर अहिले व्यापक छ । यतातिर पनि मिडियाले ध्यान दिनुपर्छ ।’

पत्रकारलाई ज्यान मार्ने धम्की आयो: ब्लाष्ट सम्पादक 

kishor karki

ब्लाष्ट टाइम्सका प्रकाशक तथा सम्पादक किशोर कुमार कार्कीले पत्रकारहरुलाई ज्यान मार्नेसम्मको धम्की आएको बताएका छन् । मेयर हर्क साम्पाङबारे आलोचनात्मक समाचार लेख्दा पत्रकारहरुलाई ज्यान मार्ने धम्की आएको उनले बताए । ब्लाष्ट टाइम्सको कार्यालयमा बम पड्काईदिने धम्की आएको पनि उनले बताए । कार्कीले सोसियल मिडियाबाट घरमा गएर ज्यान लिने धम्कीहरु आउनु लोकतन्त्र र प्रेस स्वतन्त्रताप्रतिको चुनौती भएको पनि उनले बताए । 

यसैगरि, वरिष्ठ पत्रकार हर्ष सुब्बाले पनि स्थानीय सरकार प्रमुखकै समर्थकहरुबाट पत्रकारहरु असुरक्षित भएकोमा चिन्ता व्यक्त गरे । सरकारले प्रेस स्वतन्त्रताको ग्यारेण्टी र हित, संरक्षण गर्नुपर्नेमा धरान नगर प्रमुखले नै प्रेस स्वतन्त्रताविरोधी अभिव्यक्तिहरु आउनु दुःखद भएको बताए ।

भिडियो: