धरान: मेयर हर्क साम्पाङको उक्साहटमा सोमबार धरान वडा नं १७ का अध्यक्षमाथि आक्रमण भएको र धरान अशान्त बन्दै गएको वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन् ।
आज (मंगलबार) दिउँसो ईलाका प्रहरी कार्यालय धरान बाहिर २० जना वडाअध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुले आकस्मिक पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङमाथि यस्तो आरोप लगाएका हुन् । उनीहरुले मेयर साम्पाङ र उनका समर्थकहरुले विभिन्न सामाजिक सञ्जालमा विभिन्न समयमा वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुमाथि अमर्यादित भाषा प्रयोग गरि गालीगलौज, धाकधम्की दिने, सामाजिक प्रतिष्ठामाथि आक्रमण गर्ने, समर्थकहरुलाई अराजक कार्य गर्न उक्साउनेलगायत नियोजित कार्यबाट नै सोमबारको घटना भएको दाबी गरेका छन् ।
वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले मेयर साम्पाङकै उक्साहटमा सोमबार वडा १७ को कार्यालयमा टिएलओहरुको बैठकमा वडाअध्यक्ष माथि आक्रमण भएको र धरान अशान्त बनेको पनि जिकिर गरेका छन् । मेयर साम्पाङले आक्रमणकारीहरुलाई संरक्षण गरेको, पीडित वडाअध्यक्ष र सदस्यहरुलाई पटक पटक मुद्दा फिर्ता लिन दबाब दिएकोबाट पनि उनकै उक्साहटमा सोमबारको घटना भएको दाबी वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
आफुहरु लचक भएर मेयर साम्पाङसँग अनौपचारिक छलफल भइसकेको र मेयर साम्पाङले कार्यपालिका सदस्यहरुलाई मागेको राजिनामा फिर्ता गरि कार्यपालिका बैठक बस्ने वातावरण बनाउने अनौपचारिक समझदारीसमेत भइसकेको अवस्थामा यो नियोजित घटना हुने धरानको लागि अत्यन्तै दुर्भाग्य भएको पनि विज्ञप्तीमा उल्लेख छ ।
वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कानुन, विधि र पद्दतीको पालनाले मात्रै विकास र सुशासन सम्भव छ भन्ने मान्यतालाई सबैले आत्मसाथ गर्नसक्नुपर्ने उल्लेख गर्दै धरानमा भइरहेको अराजक गतिविधि रोक्न नगर प्रमुखको मुख्य भुमिका हुने भएकोले मेयर साम्पाङलाई आग्रह पनि गरेका छन् । साथै, शान्ति सुरक्षा कायम गरि जनप्रतिनिधिहरुले सुरक्षित वातावरणमा जनताको सेवा गर्ने वातावरण तयार गर्न प्रशासनसँग पनि माग गरिएको छ ।