धरान: निर्माण कार्य शुरु भएको ४ महिनामा निशाने खोला दोभानमा बनेको पानीट्यांकी धरान खानेपानी बोर्डलाई हस्तान्तरण गरिएको छ । 

निशाने खोला खानेपानी ट्यांकी निर्माण समितिले बिहिबार ट्यांकी निर्माणस्थलमा कार्यक्रमको आयोजना गरि ट्यांकी बोर्डलाई हस्तान्तरण गरेको हो । निर्माण समितिले मेयर हर्क साम्पाङलाई ट्यांकीको कागजपत्र र चाबी हस्तान्तरण गरेको छ । त्यसअघि, मेयर साम्पाङले रिबन काटेर ट्यांकीको उद्घाटन गरेका थिए भने गोर्खा पिस फाउण्डेशनका ट्रष्टी प्रेम लिम्बुले दाताहरुको नाम अंकित शिलालेख र हर्क साम्पाङ सपोर्ट कमिटी युकेका सहसंयोजक देव हुक्पा चोङवाङले सपोर्ट कमिटी अन्तर्गतका दाताहरुको नाम लेखिएको शिलाको अनावरण गरेका थिए । साथै, खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले भल्व खोलेर औपचारिकरुपमा पानी वितरण गरेका थिए ।

भिडियो:

यो ट्यांकीको क्षमता २ लाख ३७ हजार लिटर रहेको छ । गोर्खा पिस फाउण्डेशन युके र हर्क साम्पाङ सपोर्ट कमिटी युकेको आर्थिक सहयोगमा पानीट्यांकी निर्माण भएको हो । यो ट्यांकीमा सर्दु, खर्दु र निशाने खोलाको पानी संकलन गरेर वितरण भइरहेको छ । निर्माण कमिटीका अनुसार कुल ८९ लाख ४२ हजार ६१२ रुपैयामा ट्यांकी निर्माण भएको हो । गोर्खा पिस फाउण्डेशनकोतर्फबाट ३४ लाख २२ हजार २२३ रुपैया र हर्क साम्पाङ सपोर्ट कमिटीबाट ५८ लाख ७२ हजार १३६ रुपैया सहयोग प्राप्त भएको निर्माण कमिटीका सचिव डिबि लिम्बुले जानकारी दिए । ट्यांकी निर्माणमा उपमहानगरपालिकातर्फबाट श्रमदानमार्फत ९ लाख २० हजार २९० रुपैया लगानी भएको छ । साथै, १२ लाख ७२ हजार रुपैया बचत रहेको पनि उनले बताए ।

भिडियो:

ट्यांकी निर्माण शुरु भएको ४ महिनामा हस्तान्तरण भएपनि ६२ दिनमा नै ट्यांकी निर्माण भएर पानी वितरणको काम शुरु भएको थियो । पानी फिल्टर गर्न सेन्ट पिट पनि निर्माण गर्नुपर्दा तोकिएको समयभन्दा केही ढिला भएको गोर्खा वेलफेयर अफिसर पुर्ण लिम्बुले जानकारी दिए । कार्यक्रममा १ लाख भन्दा बढी सहयोग गरेका दाताहरुलाई ताम्रपत्रले सम्मान गरिएको थियो भने ५० हजार भन्दा बढी सहयोग गर्नेलाई प्रशंसा पत्र वितरण गरिएको थियो । मेयर साम्पाङले आफ्नो प्रमुख एजेण्डा नै खानेपानी समस्या समाधान गर्ने रहेकोले त्यसैमा केन्द्रीत भएको बताए । उनले अब भालुखोला र सेउतीको पानी संकलन गर्न वडा १५ मा पनि ट्यांकी निर्माण गरिने बताए । 

गोर्खा पिस फाउण्डेशनका ट्रष्टी प्रेम लिम्बुले आफुहरुले एउटा गहन जिम्मेवारी पुरा गरेको भन्दै खुशी व्यक्त गरे । सपोर्ट कमिटी युकेका सहसंयोजक देव हुक्पा चाङवाङले सहयोग गर्नेहरु धरानका मात्र नभएर युकेमा बसोबास गर्ने अन्य जिल्ला र हङकङबाट पनि भएको बताए । साथै उनले धरान १५ मा पनि ट्यांकी बनाउन सहयोग गर्नेबारे छलफल भइरहेको जानकारी दिएका थिए । 

भिडियो:

nishane-tank7

nishane-tank8

nishane-tank2

nishane-tank1

nishane-tank6

nishane-tank9

nishane-tank10

nishane-tank11