धरान: दुई दिने दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्यिक तथा साँस्कृतिक पर्यटन महोत्सवको तयारी शुरु भएको छ । 

धरानको वडा नं १३ स्थित साहित्य कला सँस्कृति प्रतिष्ठानको आयोजनामा आगामी असार १५ र १६ गते महोत्सव तयारी शुरु भएको हो । साहित्य, कला, सँस्कृतिको आदनप्रदान गर्ने, कला तथा साहित्यकारहरुबीच अन्र्तक्रिया गराउने, कला साहित्यको माध्यमबाट स्वदेश तथा विदेशका नगरहरुबीच आत्मीय सम्बन्ध स्थापना गर्नेलगायत उद्देश्य लिएर महोत्सव आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष गोपाल श्रेष्ठ (प्रयास)ले जानकारी दिए । ‘भौतिक विकास र समृद्धिसँगै धरान साहित्य, कला र सँस्कृतिको पनि धनी छ भन्ने सन्देश प्रवाह हुनेछ । साहित्यिक साँस्कृतिक पर्यटनको केन्द्र बनाउन पनि सफल हुन्छ,’उनले भने ।

आयोजक संस्था धरान वडा नं १३ ले गठन गरेको हो । कला, साहित्य र सँस्कृति प्रर्वद्धनको लागि विविध गतिविधिहरु गर्दै आएको संस्थाले महोत्सवको पहिलो सँस्करण २०७७ सालमा आयोजना गरेको थियो । स्वदेश तथा विदेशका कला, साहित्यकारहरुलाई आमन्त्रण गरेर पहिलो कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको थियो । यसपाली पनि कार्यक्रम आयोजनाको लागि संस्थाले विभिन्न निकायहरुमा आवश्यक सहयोग तथा बजेट माग गरेको छ । 

संस्थाका अध्यक्ष श्रेष्ठसँगै सल्लाहकार एवं भाषाविद प्रा.डा.टंक न्यौपाने, कार्यक्रम संयोजक तथा वरिष्ठ साहित्यकार वम देवानले धरानका मेयर हर्क साम्पाङलाई भेटेर सहयोगको आग्रह गरेका छन् । भाषाविद् डा.न्यौपानेले वर्मा, मणिपुर, आसाम, मिरिक, दार्जिलिङबाट दुई दर्जन श्रष्टाहरु आउने जानकारी दिए । यस्तै, नेपालबाटसमेत गरि कुल २ सय हाराहारीहरुमा श्रष्टाहरु सहभागी हुने पनि उनले बताए । 

कार्यक्रम उद्घाटन अघि साँस्कृतिक झाँकीसहित र्याली पनि हुनेछ भने कविता, गजल, सास्ँकृतिक कार्यक्रमलगायत गतिविधिहरु हुने आयोजकले जनाएको छ । धरानको साहित्यबारे पनि कार्यपत्र प्रस्तुत हुनेछ भने इन्दु योञ्जनको अन्तिम सेलो पनि विमोचन गरिने प्रतिष्ठानले जनाएको छ । यस्तै, आमन्त्रित अतिथिहरुलाई धरानको धार्मिक पर्यटकीयस्थल र भेडेटार पनि घुमाइने बताइएको छ । 

भिडियो: