धरान: धनकुटाको पर्यटकीय गाउँपालिका साँगुरीगढी ५ डाँडाबजारस्थित ध्वजे डाँडामा सोमबार नेपालसहित २२ राष्ट्रका झण्डा फहराइएको छ ।

स्वदेशी तथा विदेशी पर्यटकहरुलाई पनि आकर्षित गर्नको लागि सार्क राष्ट्र र अन्य मित्रराष्ट्रहरुको पनि झण्डा राखिएको हो । ध्वजे डाँडालाई अब झण्डी डाँडा अर्थात फ्लाग हिल पनि भनेर पर्यटकहरुलाई आकर्षित गरिने स्थानीय पर्यटनकर्मीहरुले बताएका छन् । पर्यटन बोर्ड, गाउँपालिका र स्थानीयको सहभागितामा ६ लाख ३३ हजार १०४ रुपैयामा झण्डा राखिएको हो । उक्त झण्डाहरुको आइतबार गाउँपालिका अध्यक्ष जितेन्द्र राई, उपाध्यक्ष मुना राईसहित पर्यटन व्यवसायी, स्थानीय समाजसेवी, पत्रकारहरुले संयुक्तरुपमा झण्डोत्तलन गरेका थिए ।

गाउँपालिका अध्यक्ष राईले साँगुरीगढीमा घुम्न आउने पर्यटकहरुलाई नयाँ गन्तव्य र आकर्षण आवश्यक भएकोले ध्वजे डाँडालाई थप प्रर्वद्धन गर्न विभिन्न मित्र राष्ट्रको झण्डाहरु राखिएको बताए । उनले पर्यटन विकासको लागि खुवालुङ त्रिवेणीदेखि ध्वजे डाँडासम्म पदयात्राको सम्भाव्यता अध्ययन भइसकेको पनि जानकारी दिदै भेडेटार, नाम्जे घुम्न आउने विदेशी पर्यटकहरुलाई ध्वजे डाँडामा आफ्नो राष्ट्रको झण्डा मुनि फोटो खिच्न, सेल्फी खिच्न पठाउन सकिने र थप एक रात बास लम्ब्याउन सकिने बताए । भविष्यमा सबै राष्ट्रको झण्डा राखिने पनि उनले बताए । 

dhoje dada3

पर्यटनकर्मी बासुदेव वरालले करिब डेढ दशकअघि ध्वजे डाँडालाई झण्डी डाँडाकोरुपमा पनि प्रर्वद्धन गर्न पहल भइरहेको खुलाउदै अब भने सार्थक हुदै गएको बताए । संयुक्त राष्ट्रसंघको कार्यालयमा मात्र विश्वका सबै देशको झण्डा राखिएको भन्दै उनले ध्वजे डाँडामा पनि सबै देशको झण्डा राखिएमा विश्वका पर्यटकहरुको ध्यान तानिने र आउन लालयित हुने उनले बताए । 

स्थानीय बुद्धिजिवी तथा पर्यटनविद कृष्ण ब्लोनले अन्तराष्ट्रियस्तरमा पनि प्रचारप्रसार होस् भनेर फ्लाग हिल पनि भन्ने र विभिन्न राष्ट्रको पनि झण्डा राख्ने अवधारणा ल्याइएको बताए । यसले ध्वजे डाँडाको पर्यटन प्रर्वद्धनमा थप टेवा पुग्ने उनले बताए । मौषम खुलेको बेला बिहानै सुर्योदयको मनोरम दृष्यट, तराईका फाँटहरु, हिम श्रृंखला र प्राकृतिक सौन्दर्यको दृष्यावलोकन गर्ने उत्कृष्ट गन्तव्य ध्वजे डाँडा भएको पनि उनले बताए । पर्यटकहरुलाई होम स्टेको पनि व्यवस्था भएको उनले बताए । साथै, डाँडामाथि किरात धर्मावलम्बीहरुको माङखिम रहेको र थप बुद्धको ठुलो प्रतिमा पनि राख्ने पहल भइरहेको उनले बताए । 

dhoje

भिडियो: