धरान: सती प्रथा अन्त्य भएको १०३ वर्ष पुरा भएको अवसरमा सोमबार साँझ धरानको भानुचोकमा दिप प्रज्वलन गरिएको छ ।

मानव अधिकारको लागि महिला एकल महिला समुह सुनसरीको आयोजनमा उक्त कार्यक्रम भएको हो । श्रीमान्को मृत्युपश्चात एउटै चितामा श्रीमती पनि जल्नुपर्ने सती प्रथा नेपालबाट २५ असार १९७७ सालमा उन्मूलन भएको थियो । तत्कालिन श्री ३ चन्द्र शमशेर राणाले सती प्रथा अन्त्यको घोषणा गरेका थिए । सोही दिनलाई एकल महिलाहरुले विशेष दिनको रुपमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै आएको एकल महिला समुह सुनसरीका अध्यक्ष शान्ता अधिकारीले बताईन् । ‘सति प्रथा अन्त्य भए पनि समाजमा अझै एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन भएको छैन । हिंसा र अत्याचारको स्वरुप मात्र परिवर्तन भएको छ, भोगाई त्यस्तै नै छ,’अध्यक्ष अधिकारीले भनिन् । 

समुहकी पुर्वअध्यक्ष जयन्ती लाखेले सति प्रथाको अन्त्य भएको १०३ वर्ष पुरा भएपनि पनि एकल महिलाहरुलाई समाजले विभिन्न लाञ्छनाहरु अझै पनि लगाउने गरेको बताइन् । उनले भनिन्,‘एकल महिलाहरुलाई अझै पनि विधुवा भनेर हेप्ने, शुभ साईतमा अशुभ मान्ने चलन परिवार र समाजमा यथावत नै छ । एकल महिलाहरुलाई सम्पत्ति माथिको अधिकार कानुनले दिएपनि सहजै प्राप्त गर्न सक्दैनन् ।’ शिक्षित र सचेत एकल महिलाहरु भएपनि स्वतन्त्र भई क्षमता विकास गर्न नपाउनु पनि हिंसाको अर्को स्वरुप भएको उनले बताइन् । 

single women1

श्रीमान् निधन पछि चितामा जिउदै जल्नु पर्ने अमानवीय प्रथालाई जंगबहादुर राणाले वि.स.१९१० को मूलुकी ऐनद्धारा निरुत्साहित गर्न विभिन्न बन्देज लगाउने प्रावधान राखेका थिए । जसमा मुलुकी ऐनमा १६ वर्षभन्दा मुनिका श्रीमती भए सती जानु नपर्ने, ९ वर्षभन्दा मूनिका छोराछारी हुनेले सती जानु नपर्ने व्यवस्था गरिएको थियो । १६ वर्ष नाघेका श्रीमतिको ५ वर्ष भन्दा मुनीको छोरी भए सति जानु नपर्ने लगायताका बुँदाहरु समावेश गरिएको थियो । 

मूलुकी ऐनमा केहि व्यवस्था थप गर्दे वीर शमशेर राणाले विस.१९४४ सालमा सती प्रथा नियन्त्रण गर्ने १९४४ इस्तिहार जारी गरेको इतिहास छ । जसमा सति प्रथा जानलाई जोरजर्बजस्ती गर्ने र त्यस्तो मलामी जानेलाई आर्थिक र भौतिक कार्वाही गर्नेसम्मको व्यवस्था भएता पनि यसको पालाना कडारुपमा भएको थिएन । त्यसपछि चन्द्र शमशेर राणाले १९७७ असार २५ गते सति प्रथा अन्त्यको घोषणा गरेका थिए, र यो घोषणा प्रभावकारीरुपमा लागू भएको थियो ।