धरान: बढुवा प्रक्रिया सुचारु गर्नुपर्ने माग राखेर आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका शिक्षकहरुले परीक्षा शाखामा तालाबन्दी गरेका छन् ।

शिक्षक कल्याण समाजको नेतृत्वमा आन्दोलित शिक्षकहरुले आज आइतबार परीक्षा शाखामा ताला लगाएका हुन् । शिक्षकहरुको आन्दोलन र तालाबन्दीले प्रतिष्ठानमा जारी परीक्षा र पठनपाठन पनि प्रभावित बनेको छ । आइतबार निर्धारित बिएसी बिएमएलटीको परीक्षा पनि रोकिएको छ । शिक्षक कल्याण समाजले भदौ १३ गतेदेखि नै सबै शैक्षिक तथा परीक्षाका कार्यक्रमहरु बहिष्कार गर्ने घोषणा गरिसकेको थियो । समाजका अध्यक्ष डा.सेराज अहमद खानले आन्दोलन शुरु गरेको पाँच दिन बितिसक्दा पनि सुनुवाई नभएकोले तालाबन्दी गर्नुपर्ने अवस्था सृर्जना भएको बताए । 

प्रतिष्ठानमा विगत ७,८ बर्षदेखि पदोन्नती नहुँदा शिक्षकहरुमा निराशा छाएको छ । वृत्ति विकास रोकिएपछि त्यही कारणले राम्रो शिक्षकहरुले प्रतिष्ठानमा राजिनामा दिएर पलायनसमेत भइसकेको अध्यक्ष खानले बताए । उनले समयमा नै प्रतिष्ठान व्यवस्थापनले माग पुरा गर्न ध्यान दिनुपर्ने बताए ।  

प्रतिष्ठानको कायममुकायम उकुलपतिमा प्रा.डा.प्रह्लाद कार्की नियुक्त भएपनि विगत ७ महिनादेखि जारी बढुवा प्रक्रिया रोकेका थिए । उनले बढुवा प्रक्रिया रोकेर लोकसेवा आयोगलाई पत्राचार गर्दै परामर्श मागेपछि समस्या शुरु भएको थियो । प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सुर्य संग्रौलाले आन्दोलनले परीक्षा रोकिएको र पठनपाठन पनि प्रभावित भएको बताए । उनले उपकुलपति डा.कार्कीले बढुवा प्रक्रियालाई रोकेर अनावश्यकरुपमा लोकसेवा आयोगसँग परामर्श मागेको कारण समस्या भएको बताए । उनले कार्यकारिणी समिति, पदाधिकारीहरुबीचमा संवाद गरेर एकतावद्ध भएर निकासको लागि माथिल्लो निकायमा जानुपर्ने पनि बताए । यस्तै, सहमति जुटाएर प्रतिष्ठानको परिस्थिति खुलाएर लोकसेवा आयोगसँग पनि सहमतिबाट पदोन्नतीको प्रक्रिया अघि बढाउनुको विकल्प नभएको उनले बताए । 

कर्मचारीहरु पनि आन्दोलनको तयारीमा

प्रतिष्ठानमा लामो समयदेखि बढुवा अवरुद्ध भएकोले कर्मचारीहरु पनि आन्दोलनको तयारीमा छन् । कर्मचारी कल्याण समाजका अनुसार विगत १५ बर्षदेखि कर्मचारीहरुले बढुवा नपाएर अन्यायमा परेका छन् । समाजले १० दिनको अल्टिमेटमसहित कायममुकायम उपकुलपति कार्कीलाई ज्ञापन पत्र बुझाइसकेको समाजकी अध्यक्ष कविता ढकालले बताइन । 

बढुवाको विज्ञापन खुले पनि अन्र्तवार्ताको मिति हालसम्म नतोकिएकोले तत्काल प्रक्रिया थालिनुपर्ने माग रहेको उनले बताइन् । यस्तै, सरकारले बढाएको तलब २ बर्षदेखि नपाएको भन्दै उनले एकैपटक खुवाउन नसकेपनि तत्लो तहका कर्मचारीबाट शुरुवात गर्नुपर्ने माग रहेको बताइन । समाजले दिएको अल्टिमेटम भदौ २२ गते सकिने र त्यसपछि कडा आन्दोलन हुने पनि उनको भनाई छ । 

भिडियो: