धरान: चार दिनअघि धरान १५ खोरिया बस्ती र धौगागिरी टोल (सुर्य मार्ग) का युवाहरुबीच काटाकाट भएको घटनामा स्थानीय तीन वटा टोल विकास संस्थाहरुको संयुक्त बैठक बसेको छ ।

उपमेयर अइन्द्रबिक्रम बेघा, ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदिप कार्कीसहितको उपस्थितिमा खोरिया बस्ती टोल विकास संस्था, सुसन रोड टोल विकास संस्था र धौलागिरी टोल विकास संस्थाका पदाधिकारी, सदस्यहरुको संयुक्त बैठक बसेको हो । भविष्यमा यस्ता घटनाहरु हुन नदिन के कस्ता उपायहरु अवलम्बन गर्ने भनेर बैठक बसेको धौलागिरी टिएलओका अध्यक्ष दिनेश राना मगरले जानकारी दिए ।

बैठकले भदौ २६ गते भएको घटनाको अनुसन्धान प्रक्रियालाई आवश्यक सहयोग गर्ने र उक्त घटनाका घाइतेको अभिभावकलाई भेटेर जानकारी लिने निर्णय भएको अध्यक्ष मगरले जानकारी दिए । यस्तै, संवेदनशील क्षेत्रहरुको पहिचान गरी सिसि क्यामेरा जडान गर्न ३ वटै टिएलओका पदाधिकारीहरुले यथासिघ्र इष्टिमेट गरेर उपमेयर समक्ष अनुरोध गरी पत्राचार गर्ने र आवश्यक स्थानहरुमा उत्तम खालको बत्ति जडानको लागि पेश गर्ने निर्णय भएको छ । 

khoriya1

यसैगरि, टोलमा शान्ति सुरक्षाको लागि प्रहरीको साथ लिएर प्रक्रिया मिलाएर गस्ती गर्ने, टोलमा नयाँ मानिस देखा परेमा परिचय लिने र पाहुनालाई बाहेक अन्यलाई बुझाएर फर्काउने पनि निर्णय भएको छ । यस्तै, घर भाडामा बस्ने व्यक्तिको पुर्णविवरण टिएलओलाई जानकारी गराउने र परिचय नखुल्ने व्यक्तिलाई घरभाडा दिदा सम्झौता गरेर मात्र दिने पनि निर्णय भएको छ । आगामी बैठकहरुमा महादेव चोक र गर्वलाल टिएलओलाई पनि जोड्ने तथा वडाका प्रतिनिधिहरुलाई पनि आमन्त्रण गर्ने निर्णय भएको छ । 

बैठकमा स्थानीयले प्रहरीले नियमित गस्ती गर्नुपर्ने, प्रहरी चौकी पनि वडा १५ को तल्लो भेगमा स्थापना गर्नुपर्ने, अभिभावकहरु आफैले छोराछोरीलाई राम्रो निगरानी गर्नुपर्नेलगायत धारणा राखेका थिए ।  स्थानीय युवा शान्तिराम राईले युवाहरु बेरोजगार भएकोले गलत बाटोमा हिडिरहेको भन्दै स्थानीय सरकारले ठोस कार्यक्रम ल्याउनुपर्ने बताए । उपमेयर बेघाले आफुले भाईको गलत क्रियाकलपालाई ढाकछोप कहिल्यै नगरेको प्रष्टीकरण दिदै दोषीहरुलाई कारबाही गर्नुपर्छ भन्ने पक्षमा रहेको बताए । 

मंगलबार धरान १५ खोरिया बस्ती र धौलागिरी टोल (सुर्य मार्ग)का युवाहरुबीच ग्याङ फाइट भएको थियो । उक्त घटनामा खोरियाका उपमेयर अइन्द्रबिक्रम बेघाका भाई बिष्णु बेघा सामान्य घाइते भएका थिए भने सुर्य मार्गका सन्देश राई गम्भीर घाइते भएका थिए । 

भिडियो: