धरान: प्रहरीले धरानबाट पक्राउ गरेका १२ जना पहिचानवादी आन्दोलनकारीहरु रिहा भएका छन् ।

प्रदेश बन्दको दोस्रो दिन आज बिहान धरान १३ शिवधारा र धरान २ माछाभौडी क्षेत्रबाट १२ जना आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले साँझ करिब ५ बजे छोडेको थियो । पक्राउ परेका नेता, कार्यकर्ताहरु रिहाई भएपछि भानुचोकमा कोणसभा गर्दै पहिचानवादीहरुले प्रदेशको पुनः नामांकन पहिचानबाट नभएसम्म आन्दोलन जारी राख्ने बताए । 

यद्यपी, तत्कालको लागि बन्दको कार्यक्रम समापन गरिएको र प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समिति केन्द्रबाट आन्दोलनको थप कार्यक्रम आएपछि आन्दोलन अघि बढाउने सुनसरी जिल्ला समिति संयोजक एवं किराया अध्यक्ष राजेन्द्र राईले जानकारी दिए । उनले पहिचान विरोधी अभिव्यक्ति दिदै हिडेका एमाले अध्यक्ष केपी ओली, नेताहरु महेश बस्नेत, क्षितिज थेवेहरुले प्रदेश १ लाई अशान्त बनाएको पनि बताए । 

पहिचानको लागि युवाका सुनसरी जिल्ला संयोजक राजु के राईले पहिचानको विरोध गर्ने तर राईहरुको साकेला, लिम्बुहरुको च्याब्रुङ बजाएर नाच्दै हिड्ने केपी ओलीको चरित्र अपाच्य भएको बताए । पहिचानको आधारमा प्रदेशको नामांकन गर्न युवाहरु वलिदान दिन पनि तयार रहेको उनले बताए । 

एमालेको झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको समृद्धि यात्रामा अवरोध गर्न खोजेको आरोपमा गोपाल किरातीसहित दुई दर्जन बढी पहिचानवादी नेता, कार्यकर्ताहरु पक्राउ परेका थिए । उनीहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार २ दिन प्रदेशभरि बन्द आह्वान गरेको थियो । बजार र शैक्षिक संस्थाहरु खुलेपनि लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प भएको थियो । 

भिडियो: