धरान: १२३ औ धरान उत्सवको स्टल अनुगमनको क्रममा शनिबार उपमहानगरपालिकाको छाप र आधिकारिक हस्ताक्षर विनाको रसिद भेटिएको छ । 

प्रमुख प्रशासकीय अधिकृत प्रज्ञा निरौला, राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडा, बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा, पत्रकारसहितको टोलीले अनुगमन गर्दा आधिकरिक स्टल बाहेक राखिएका ठेला तथा पसललाई छाप विनाको बिल उपमहानगरपालिकाले दिएको फेला परेको हो । यस्तो बिल भेटिएपछि अनुगमनकर्ताबीचमा नै विवाद चलेको थियो । 

अनुगमन अधिकृत सापकोटा र राजश्व महाशाखा प्रमुख खतिवडाबीच व्यापारीलाई थमाइएको बिलको आधिकारितालाई लिएर मतभेद भयो । उक्त बिल नगर प्रहरीले ठेला राखे बापत बिल काटेर दिएको बताए पनि आधिकारिकरुपमा बोल्न चाहेनन् । अनुगमनका क्रममा स्टलहरुमा मुल्य सुची नराखेको र दुई वटा आधिकारिकता बिनाको बिल भेटिएको  अनुगमन अधिक्रित सापकोटाले जानकारी दिए । उनले यसबारेमा उपहानगरपालिकामा कुरा हुने बताए । 

dharan utsav2

प्रमुख प्रशासकीय अधिकृत निरौलाले पनि यथार्थ बुझेर नगरपालिकाको निर्णयभन्दा विपरीत भेटिएमा कारबाही गर्ने जानकारी दिइन् । राजश्व शाखा प्रमुख खतिवडाले स्टलबाहेक खेल सामाग्री बेच्ने केही व्यापारीलाई अनुमति दिइएको भएपनि अरु भेटिएकोले हटाइएको बताए । साथै उनले स्टाम्प नभएको बिल भेटिएको सन्दर्भमा उक्त बिल नगरकै आधिकारिक भएको तर नगर प्रहरीले स्टाम्प लगाउन बिर्सिएको बताए । उनले उक्त रसिदको राजश्व भने नगरमा जम्मा भइसकेको पनि दाबी गरे । 

विद्यालय क्षेत्र भएकोले मदिराजन्य पदार्थ बेच्न नलिइने भनिए पनि खुल्लमखुल्ला मदिरा पनि बिक्रीवितरण भइरहेको भेटिएको थियो । तर, अनुगमनले त्यस्ता व्यापारीहरुलाई कुनै निर्देशन भने दिएन ।

यसैबीच, साँझ उपमेयर अइन्द्रबिक्रम बेघा, वडा नम्बर १५ का अध्यक्ष नरेश इवारम, वडा नं ९ का अध्यक्ष रुपेश आचार्य, बजार अनुगमन अधिकृत सापकोटा, प्रहरीसहितको टोलीले स्टलहरुको अनुगमन गरेको थियो । बेघाका अनुसार अनुगमन भन्दा पनि स्टलका व्यापारी र उत्सवमा रमाउन आएकाहरुलाई भेट गर्न गएको प्रतिक्रिया दिए । साथै उनले स्टाम्प बिनाको बिल भेटिएको बारेमा औपचारिकरुपमा अनुगमन र सुरक्षा समितिमा आएपछि आवश्यक कुरा बुझ्ने पनि बताए । 

भिडियो: