धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनेट सदस्यसमेत रहेका मेयर हर्क साम्पाङले कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीले राजिनामा दिनुपर्ने बताएका छन् ।

प्रतिष्ठानको उपकुलपति कार्यालयमा तालाबन्दी गर्न शुक्रबार दिउँसो पुगेका मेयर साम्पाङले निर्णय गर्न नसक्ने उपकुलपति पदमा बसिरहन नहुने भन्दै राजिनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिए । ‘उपकुलपतिले का.स.बैठक नै नराखेको भन्ने कुरा आयो । काम गर्न नसक्ने, निर्णंय नै गर्न नसक्ने हो भने राजिनामा दिइहाल्नुपर्छ,’मेयर साम्पाङले भने,‘नेतृत्वले निकास दिन सक्दैन भने किन पदमा बसिरहने ? पद छोड्नुपर्छ, अर्को आउछ र गर्छ । उहाँले मार्ग प्रशस्त गर्नुपर्छ ।’

प्रतिष्ठानको वर्तमान समस्याबारे सबैतिर बुझ्दा कायममुकायम उपकुलपतिले नै निकास दिन नचाहेको भन्ने जानकारी पाएको पनि मेयर साम्पाङले बताए । ‘मन्त्री, लोक सेवा आयोगबाट पनि ग्रिनसिग्नल दिएको भन्ने बुझियो, तर उहाँले नै काम गर्न नचाहेको रहेछ,’मेयर साम्पाङले भने,‘उहाँ काम गर्न नसक्ने रहेछ । निर्णय गर्न नसक्नेले नेतृत्व नै लिनुहुदैन । निर्णय गर्न पनि कस्लाई सोधिरहने ? त्यति त आँट गर्नुपर्छ नि !’

harka bpkihs

मेयर साम्पाङले शिक्षक, कर्मचारीहरु अन्यायमा परेकोले न्यायोचित काम गर्नुपर्ने बताए । ‘अस्ति पनि आन्दोलन हुँदा १० करोड नोक्सान भएको सुनेको थिए । अब हामी हस्तक्षेप गछौं, भिसिको राजिनामा माग गछौं,’ उनले भने । मेयर साम्पाङ शुक्रबार उपकुलपति कार्यालयमा ताला लगाउन भन्दै प्रतिष्ठान पुगेपनि ताला नलगाइ फर्केका थिए । उपकुलपति कार्यालयको गेटमा नै ताला लागिसकेको र आन्दोलनरत शिक्षक, कर्मचारीहरुले पनि उपकुलपति डा.कार्कीलाई निषेधित क्षेत्र घोषणा गरेको हुनाले मेयर साम्पाङ तालाबन्दी नगरि फर्केका थिए । 

बषौंदेखि बढुवा नहुदा प्रतिष्ठानका शिक्षक, कर्मचारीहरुको वृत्तिविकास रोकिएर निराश छन् भने दक्ष चिकित्सकहरु पलायन भइसकेका छन् । बढुवा प्रक्रियाको माग गर्दै शिक्षक, कर्मचारीहरुले पटक पटक आन्दोलन गरेका छन् । गत कार्तिकमा उपचार सेवा र विद्यार्थीहरुको पठनपाठन ठप्प भएपछि मेयर साम्पाङकै उपस्थितिमा वार्ता भएर शिक्षक र कर्मचारीसँग छुट्टा छुट्टै ४ बुँदे सहमति भएको थियो । तर, उक्त सहमति कार्यान्वयन नभएपछि पुनः शिक्षक, कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले आइतबार बिहानसम्म उपकुलपति कार्की आएर का.स.बैठक नराखे इर्मजेन्सी, आइसियु र वार्डबाहेक सम्पुर्ण उपचार सेवा बहिष्कार गर्ने तथा पठनपाठन, परिक्षाका कार्यक्रम पनि बहिष्कार गर्ने घोषणा गरिसकेका छन् । 

भिडियो:

भिडियो: