धरान: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रल्हाद कार्कीलाई तत्काल धरान फर्किएर कार्यकारिणी समिति (का.स.) बैठक बोलाउन निर्देशन दिएका छन् । 

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्कीलाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार का.मु.उपकुलपति कार्कीलाई कार्यकारिणी समितिको बैठक काठमाण्डौंमा नबोलाई धरान फर्किएर राख्न र अन्तर्वार्ताको मिति तोकेर नियमावली संशोधनको प्रस्ताव सिनेट बैठकमा लैजाने निर्णय गर्न पनि प्रधानमन्त्री प्रचण्डले स्पष्ट निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई समेत फोन गरेर आइतबारको मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न निर्देशन दिएको पनि सचिवालयले जानकारी दिएको छ । यसअघि पनि प्रधानमन्त्री प्रचण्डले २ माघमा स्वास्थ्यमन्त्री बस्नेतलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका थिए ।

सोही निर्देशन पछि मन्त्री बस्नेतले प्रतिष्ठानका चारै जना पदाधिकारीलाई काठमाण्डौं छलफलमा बोलाएका थिए । मन्त्री बस्नेतसँगको छलफल पछि मुख्यसचिव बैकुण्ठ अर्यालले का.स.बैठक बसेर निकास दिन निर्देशन दिएपनि बैठक काठमाण्डौं बोलाएको कारण बस्न सकेको छैन । आन्दोलनरत शिक्षक, कर्मचारीहरुले बैठक धरानमै बस्नुपर्ने र मुख्य एजेण्डा अवरुद्ध भएको अन्तर्वार्ताको मिति तोक्ने राखिनुपर्ने माग राखेका छन् ।