धरान: तक्मेबुढाको उपनामले चर्चित राष्ट्रिय कलाकार विल्सन बिक्रम राई (तक्मेबुढा)ले धरान २० मा निर्माण गर्ने भनिएको सुम्निमा -पारुहाङको प्रतिमा निर्माण गर्न एक लाख आर्थिक सहयोग गरेका छन् ।

सपरिवार धरान आएका कलाकार राईले सोमबार मेयर हर्क साम्पाङलाई भेटेर उक्त रकम हस्तान्तरण गरेका थिए । आज (माघ १५ गते) विल्सन र उनका ४ बर्षीय छोरा विज्डमको जन्मदिन हो । जन्मदिनको अवसर पारेर श्रीमति सरिना लामा राई र बुबा डिल्लीबहादुर राईसहित विल्सन धरान आएका थिए । जन्मदिनमा पार्टी गरेर खर्चनुभन्दा मेयर साम्पाङले महाअभियानमा साथ दिन उचित ठानेर सहयोग गरेको कलाकार राईले बताए । उनले भविष्यमा पनि प्रतिमा निर्माणमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए । 

takmebuda

मेयर साम्पाङले सुम्निमा र पारुहाङको प्रतिमा बनाउने मात्र नभएर आफुले प्रकृति, प्रविधि र सँस्कृतिको क्षेत्रमा काम गरिरहेको बताए । मुर्तिमात्र नभएर किरात सभ्यता, सँस्कार, इतिहास र सँस्कृतिको जिवित प्रतिबिम्बकोरुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए । ‘त्यो क्षेत्रमा मुर्ति मात्र हुदैन । किरात सँस्कृति, सभ्यता, सँस्कृति र इतिहास यी सम्पुर्ण कुराहरुको जिवित प्रतिबिम्बकोरुपमा विकास गर्ने र सिक्ने, सिकाउने संग्रहालय, महाविद्यालयकोरुपमा विकास गर्ने हो,’उनले भने,‘हाम्रो पुर्खाले कस्ता औजारहरु प्रयोग गरे, भेषभुषा कस्तो पहिरिएर जीवन व्यतित गरे, ती सबै कुराहरु हुन्छ । खानाको परिकार पनि त्यहाँ मौलिक नै हुन्छ ।’

ठुलो परियोजना भएकोले लगानी पनि ठुलो हुने र आफुले विश्वभरका नेपालीहरुलाई सहयोगको अपिल गरेको पनि मेयर साम्पाङले बताए । उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा नं २० चिण्डे (वावु) डाँडामा सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्ने निर्णय गरेको छ । प्रतिमा निर्माण गर्न मेयर साम्पाङकै संयोजकत्वमा समिति गठन गरेर सहयोग संकलन, जग्गा प्राप्ती र डिपिआर बनाउने कार्य पनि जारी छ । चिण्डे डाँडामा व्यक्तिगत जग्गा पनि पर्ने भएकोले स्थानीयसँग छलफल र जग्गा बैना गर्ने काम पनि भइरहेको छ ।

भिडियो: