धरान: धरान वडा नं ६ स्थित पानबारीमा जारी पानबारी शतवार्षिकी महोत्सवमा निःशुल्क स्वास्थ्य जाँच शिविर सञ्चालन भइरहेको छ ।

केएचडिसीको सहयोगमा सञ्चाल भइरहेको निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरमा १ सय ५० भन्दा बढी सेवाग्राहीले सेवा लिएको महोत्सव व्यवस्थापन समितिका संयोजक राजेन्द्र न्यौपानेले बताए । केएचडिसीसँगको सहकार्यमा मुटु रोग, मृगौला रोग तथा मधुमेह सम्बन्धी शिविर चलिरहेको छ । फागुन २६ गतेदेखि चैत २ गतेसम्म चल्ने शिविरमा सहभागी भएर स्वास्थ्य सेवा लिनहुन महोत्सव आयोजक क्लब सयपत्री बोइज युनियन क्लबका अध्यक्ष एसपजंग रुम्दालीले आह्वान गरेका छन् । 

शिविरमा प्रेसर, बिएमआइ, मधुमेह, क्रिटिनाइनको जाँच भइरहेको डा. नविन अधिकारीले बताए । उनका अनुसार शिविरमा ५ जनाले सेवा दिइरहेका छन् । डा. अधिकारीले शिविरमा आएर सेवा लिन आग्रह समेत गरेका छन् । उनले मृगौला र मुटु रोग प्रारम्भिक चरणमा नै थाहा पाउन सके त्यसको रोकथाम गर्न सकिने हुँदा सर्वसाधारण सबैलाई शिविरमा आएर सेवा लिन आग्रह गरेका छन् । महोत्सवमा निःशुल्क आखाँ जाँच शिविर र दन्त शिविर समेत सञ्चालन भइरहेको छ ।