धरान: मानव बसोबास भएको सय बर्षं पुगेको अवसरमा धरान ६ पानबारीमा शतबार्षिकी पानबारी महोत्सव शुरु भएको छ । 

कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले एक समारोहबीच हिजो (शनिबार) महोत्सवको उद्घाटन गरेका थिए । उक्त समारोहमा वडा नं ६ का वडाअध्यक्ष भुपेन्द्र भट्टराईले वडा ६ लाई विभिन्न नामले बोलाइने भएपनि अबदेखि पानबारी भन्ने औपचारिकरुपमा घोषणा गरेका थिए । पुरानो नाम पानबारी भएपनि कसैले पानमारा, कसैले पानवारी भन्ने गरेको थियो । अबदेखि भने बोलीचाली र कागजपत्रहरुमा पानबारी मात्र भनिने, लेखिने उनले बताए ।

महोत्सवस्थलमा पानबारीको पहिचान झल्काउने पानको स्टल पनि राखिएको छ । किंबदन्ती अनुसार उहिल्यै माथिल्लो पहाडी क्षेत्रको राजारानी भन्ने ठाउँमा दरबार थियो । तलको समथल भुभाग (हालको पानबारी)मा पानको खेती हुने र त्यहाँको पान राजालाई औधी मन पथ्र्यो । पानको खेती भएको उक्त क्षेत्रलाई नै पानबारी भनिएको किंबदन्ती छ ।

panbari4

कृषियोग्य जमिन भएको पानबारीमा अहिले भने पानको खेती हुन छोडेको छ । विकास र सहरीकरणको चपेटामा परेको पानबारीको केही क्षेत्रमा अहिले पनि धान खेती हुन्छ । यहाँको पानमारा ब्राण्डको मन्सुली चामल देशभर प्रख्यात छ । यहाँ उखु खेती पनि हुनेगर्छ । महोत्सवमा पानको स्टलसँगै  उखु, चामल, गुन्द्रक, किनिमालगायत स्थानीयस्तरमा उत्पादन हुने कृषिजन्य वस्तुहरुको स्टल पनि राखिएको छ । 

महोत्सवसँगै शनिबारदेखि छैटौ पानबारी भलिवल कप पनि शुरु भएको छ । महोत्सवस्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ । आज साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ । 

panbari5

panbari3

panbari6

panbari1

panbari 1