धरान: पानबारी शतवार्षिकी महोत्सवसँगै शनिबारदेखि ‘छैठौ पानवारी भलिवल कप २०८० पनि शुरु भएको छ । 

प्रतियोगिताको पहिलो दिन आयोजक सयपत्री ब्वाईज युनियन क्लबले धरान उपहानगरपालिकालाई पराजित गरेको थियो । आयोजकसँग उपमहानगरपालिकाको टिम ३–१ को सेटमा पराजित भएको थियो । प्रतियोगिताको दोस्रो दिन आज (आइतबार) कोशी प्रदेश भलिवल ट्रेनिङ सेन्टर दमक र सतिसाले स्पोर्टिङ क्लब मोरंगबीच खेल भएको थियो । उक्त खेलमा दमकले ३–२ सेटमा सतिसालेलाई पराजित गर्यो । 

आयोजक क्लबका महासचिव केदार वस्नेतका अनुसार उक्त खेलको म्यान अफ द म्याच सतिसालेका उमेश राई घोषित भए । उनले पुरस्कार स्वरुपत नगद २ हजार पाँच सय रुपैयाँ हात पारेका छन् । भोली (सोमबार) को खेल बेलबारी नगरपालिका र कोशी प्रदेश प्रहरी ट्रेनिङ सेन्टर रानी, मोरङ बीच हुनेछ । 

vallyball1

प्रतियोगिताको विजेताले ३५ तोला चादीको ट्रफी र नगद १ लाख पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार पुरस्कार दिइनेछ भने अन्य व्यक्तिगत विधामा उत्कृष्ट घोषित खेलाडीले जनही १५ हजार पाउनेछन् ।

शनिबारदेखि धरान ६ पानवारीमा शतबार्षिकी महोत्सव शुरु भएको छ । महोत्सव संयोजक न्यौपानेका अनुसार महोत्सव यही चैत २ गते सम्म सञ्चालन हुनेछ । महोत्सव स्थलमा रस्सीतान, रोटेपिङ, ड्रागन, नाउ जस्ता मनोरञ्जनका साधनहरु पनि छन् भने प्रत्येक साँझ सांगीतिक कार्यक्रम पनि हुनेछ । आज साँझ चर्चित गायक कमल खत्रीको प्रस्तुती रहने आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जानकारी दिएको छ । पानबारीको कृषिजन्य स्थानीय उत्पादन, सहुलियत बजार पनि रहेको छ ।