धरानमा आज बिहान ८ बजेको शो नवीन सुब्बाको बहुप्रतिक्षित 'गाउँ आएको बाटो' ( A Road to a Village) हेरियो । फिल्म हेरेर निस्केपछि के लेख्ने, के नलेख्ने दिमागमा केहि आएन । दिनभर हल्लिएको दिमाग र मनलाई अब सुत्ने तरखर गर्दा केही शब्द लेख्ने जमर्को हो यो । यो टिप्पणी प्रतिक्रिया केही होइन ।
गाउँ आएको बाटो एक डेढ वर्षदेखि चर्चामा आएको फिल्म हो । चर्चा दुई तीन कोणबाट भएको महसुस गरेको थिएँ । पहिलो, यसको निर्देशक नवीन सुब्बा भएर पनि हो, जसले प्रारम्भ मै तरेवा, खाङ्ग्री, नुमाफुङ्जस्तो फिल्म निर्देशन गरे, जसले नेपाली फिल्मको वर्णमाला र व्याकरणलाई नँया मानक बनाउन वाध्य बनाए ।
दोस्रो, यसकारण कि नविनको फिल्म नेपाली दर्शकरबजार कम विदेशी बजाररदर्शक अधिक हुने गर्छ । उनलाई भन्नेले भन्न थालेका थिए, नविनले अब नुमाफुङ जत्तिको फिल्म बनाउन सक्दैनन् र विदेशी बजारको लागि मात्रै फिल्म बनाउँछन् । तेस्रो चर्चा यसकारण कि यो १०/१५ वर्षमा नेपाली फिल्म बजारमा त्यस्तो निर्माता र निर्देशकहरुको प्रवेश भएर सफल हुन थालिसकेका छन् कि जुन प्रकारको फिल्मको पैरवी र वहस नवीन सुब्बाले खाङ्ग्री बनाउँदैदेखी गर्दै आएका थिए । यसरी नवीन सुब्बाको नेपाली बजारमा नव निर्देशकहरुसँग कस्तो प्रतिस्पर्धा होला भन्नेपनी दर्शकहरुले हेरिरहेका थिए ।
गाउँ आएको बाटोको बारे समाजशास्त्री डा।प्रोफेसर कृष्ण भट्टचन, मानवशास्त्री डा।प्रो।डम्बर चेम्जोङ्देखी जनसंख्याशास्त्री डा।प्रा।बालकृष्ण माबुहाङ्, कानुनशास्त्री शंकर लिम्बुहरुले लेखिसकेका छन् ।
शास्त्रीहरुको विचमा यो अशास्त्रीको टिप्पणी हात्तिको मुखमा जिरा सिवाय केही होइन । तर भन्नैपर्छ, विकासको नाममा विनाश र विस्थापन कसरी भइरहेको छ भन्ने एउटा राम्रो अभिलेख हो यो फिल्म । यो फिल्म टोरन्टो, बुसान र चिनियाँ फिल्म फेस्टिवलमा मात्रै होइन, युएनको दिगो विकास सम्बन्धि र युएन कै बालबालिका सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनहरुमा प्रदर्शन हुनुपर्छ ।
गाउँमा बिजुली बाल्न, सडक बनाउन आमा, श्रीमति, दिदीबहिनीको गरगहना बेचेको कथा हाम्रै कथा हो । सडकको लागि गरगहना मात्रै होइन, श्रम, पसिना र भुदान गरेको हाम्रै व्यथा हो । सडक आएर विकास त भयो, तर कसलाई भयो रु उहीँ हुनेखानेले लाभ पाए, टाठोबाठोले पाएर पाईरहेका छन् । तर राई माईला माईलिजस्तो हुँदाखानेको चाहिँ विकासले सब लुटेको मात्रै छ । खुशी छिनाएर लगेको छ । रैथाने र आदिवासी सीप र कलालाई गर्नसम्म विस्थापित गरेको छ ।
विकाससँगै भित्रीएको अन्तर्राष्ट्रिय उत्पादनले रैथाने उत्पादनलाई विस्थापित मात्रै गरेको छैन, गैर कानुनी नै करार गरेको छ र अनाहकमा प्रहरी हिरासतमा बस्न वाध्य बनाएको छ । सडक, मोटर, कोक, टेलिभिजन, स्मार्ट मोबाइल गाउँमा पुगेपछि त्यसले बढाएको अपेक्षा र आकांक्षा तथा द्वन्द्व र मानसिक तनाव फिल्ममा डकुमेन्टेड भएका छन् ।
वास्तवमा मेरो पुस्ता भनेको शहर मै भएपनि अरुको घरमा गएर टेलिभिजन हेरेर हुर्केको पुस्ता हो । अरुको घरमा गएर ल्यान्डलाइनमा फोन गर्ने पुस्ता हो । भोजपुरको राईमाइलाको गाउँमा यो हिजोअस्ती ५-७ वर्ष अगाडिको कथा होला । यी सब गाउँ आएको बाटोमा बडो सरल र सजिव ढंगले प्रस्तुत हुन्छ । अहिलेको पुस्ता बारे त भन्दिन तर म जस्तो दुई तीन वर्ष पहाड गाउँ बस्नेले आफै भोगेको र देखेको कथा झैं लाग्छ ।
फिल्मबारे केही टिप्पणी पढेको छु । ती अनलाइन तिरपनी प्रकाशित छन् । एक दुई युट्युबमा पनि आएको छ । मेरो विचारमा अहिलेसम्म त्यति चर्चा नपाएको विषय भनेको फिल्ममा प्रस्तुत भएको बाल मनोबिज्ञान हो । फिल्ममा बाल कलाकार विन्द्र अर्थात प्रसन राई मार्फत प्रस्तुत हुने बाल मनोबिज्ञान यति उत्कृष्ट छ कि त्यो हलिवुड बलिवुडको फिल्ममा पनि विरलै हेर्न पाईन्छ ।
सियो लिन टेलरिङ्ग चलाउनेले लगाएको चस्मा देखेपछि विन्द्रमा चस्मा लाउने आकांक्षा यसरी जाग्छ कि उ (धरानतिर) सिंवालिमा लाग्ने लहराको चस्मा बनाएर लाउँछ (पहाड भोजपुरतिर केमा लाग्छ, थाहा भएन) । हुँंदाहुँदा पुरानो केमेराको रिलको टुक्रा समेत चस्मा बनाएर बिगारी पठाउँछ । कोक, फोटो खिच्ने स्मार्ट मोबाइल एकछिन हुँदाको बिन्द्रको सुपरियरिटी भाव यति उच्चकोटिले प्रस्तुत हुन्छ कि शब्दमा व्यक्त हुँदैन र नै यो टिप्पणी दिनभर नलेखी बसियो, सुतियो, ग्रीन टि/चिया पिइयो । र पनि लेख्न आएन ।
राई माइला र माइलीले आधुनिकतासँग संघर्ष गर्न नखोजेको पनि होइन । रैथाने आदिवासी ज्ञान चोयाबाट बुनेको रंगीचंगी फिति बनाएर धरान शहर बेच्न भनेर राईमाइला धरान झर्छन् । तर अर्काको पुँजिले धन कमाउने दलाल पुँजिवाद प्रणालीले माइलालाई हाताहाती विक्री गरेर छोराको टेलिभिजन हेर्ने सपना पूरा गर्न त सक्दैनन् नै, छोराले बाबू केही दिन घरमा नपाउँदा टेलिभिजनको मोह नै त्यागेको कथाले मन चिमोट्नसम्म चिमोट्छ । रातविरात शहरमा देखेको युवतीलाई आफ्नै गाउँको चिनेको वा दशौं वर्ष अगाडि आफ्नै हराएको छोरी सम्झेर बोलाएको तर शहर एकलकाँटे, स्वार्थी र विकृत बन्दै गएको सन्देश दीन धेरै दृश्य र संवाद चाहिँदैन भनेर फिल्ममा अनुभुत गर्न सकिन्छ ।
डाङ्डाङ्डुङ्डुङ अर्थात ध्वनी प्रदुषणबाट मनोरञ्जन लिन चाहने दर्शकहरु यो फिल्मबाट निराश हुन्छन् । नारी शरीर हेरेर लोभिने र मनोरञ्जन लिने रोगी दर्शकहरुपनी यो फिल्म हेरेर खुशी हुँदैनन् । जवर्जस्ती संवाद र जिउ बटारेर अभिनय हेर्ने दर्शकपनी खुशी हुँदैनन् । तर गम्भीर र कला, नेपाली रैथाने जनजीवन हेर्न चाहने वा हेरेर रमाइलो मान्नेहरु फिल्म हेरेर खुशी मात्रै हुँदैनन् । एकाध घन्टा आफुलाई त्यहीँ पाउँछन् । मलाई लागेको फिल्मको विशेषता हो यो ।
कलाकारहरुको अभिनय बारे लेख्नु भनेको बढी हुनु मात्रै हो । नविनजिले फिल्म मार्फत यो धारको फिल्म निर्माण निर्देशनमा आफुलाई अब्बल पुस्टि गरिछाड्नु भएको छ । नुमाफुङ र गाउँ आएको बाटो सम्भवत २०-२५ वर्षको अन्तरालमा बनेको तुलना नहुने दुई माइलस्टोन फिल्म हुन् । दयाहाङ राई कबड्डीमा काजी हुँदै जारिको जिम्मावाल सुब्बाको जिद्दी छोरा हुँदाको इमेज यो फिल्ममा पुरै फेरिएको छ ।
एकजना मायालु बाबू, चिन्ता र पिरले थिचिएको पतिको भुमिकामा दयाहाङ राईको अभिनय 'आम्बो' लाग्छ । पशुपति राई फिल्मी कलाकार नै लाग्दैन । भेटिरहेको देखिरहेको कुनै दुखिया चेली फूपू जस्तो लाग्छ । एक महिना वर्कसप गरेर छानिएको बालकलाकार प्रसन राईको प्रशंसा दयाहाङ, पशुपति, प्रेम सुब्बा कै समकक्षमा रहेको महसुस गर्न सकिन्छ । संगित छँदै छैन जति छ एक्स्ट्रा र युनिक छ ।
गाउँ आएको बाटो टिमलाई धेरै धेरै धन्यवाद । नोगेन छ । रास्ट्रीय र अन्तरास्ट्रिय बजार र दर्शकलाई यति उच्चकोटिको नेपाली फिल्म दिनुभयो । फिल्म टिमलाई सफलताको शुभकामना ।
हलबाट निस्कँदै गर्दा कलाकार मित्र प्रेम सुब्बा भेटिए । उनलाई फिल्ममा जस्तो सलाम हान्नेपनी भेटिए । मैलेचाहिँ पोस्टर कै अघि एक दुई सट लिन ढिलो गरिन भन्नुपर्ला ।
(लेखक नरप्रसाद लुम्फुङवा लिम्बुको फेसबुकबाट साभार)