धरान: सचेत धराने समुहले करिब डेढ बर्ष श्रमदान गरेर निर्माण गरेको एसडिएस रक गार्डेन शनिबार उद्घाटन गरिएको छ । 

उद्घाटनसँगै गार्डेन धरान उपमहानगरपालिकालाई हस्तान्तरण पनि गरिएको छ । गार्डेनको उद्घाटन मेयर हर्क साम्पाङले गरेका थिए भने मेयर साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाले परेवा उडाएर शान्ति, सद्भावको कामना पनि गरिएको थियो । 

उद्घाटन भएको गार्डेनको चाबी समुहका अध्यक्ष निरज लिम्बुले मेयर साम्पाङलाई हस्तान्तरण गरेका थिए । गार्डेनभित्र ढाकरमा नुन बोकेको महिलाको प्रतिमा पनि अनावरण गरिएको थियो । यस्तै, धरान समाज युकेले निर्माण गरिदिएको चिल्ड्रेन पार्क र राष्ट्रिय झण्डा झण्डोक्तोलन पनि गरिएको थियो ।

sds7

गार्डेन उद्घाटन समारोहमा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा, विभिन्न वडाका अध्यक्षहरु र कार्यपालिका सदस्यहरु पनि सहभागी भएका थिए । गार्डेन देश, विदेशबाट आएको आर्थिक सहयोग र समुहका सदस्यहरुको श्रमदानमा निर्माण भएको अध्यक्ष लिम्बुले जानकारी दिए । गार्डेन हस्तान्तरण गरेपनि अझै केही संरचना निर्माण कार्य जारी रहेको उनले बताए । साथै उनले गार्डेन संरक्षणमा ध्यान दिन र खोलातर्फ रिटेनिङ वालको लागि बजेट विनियोजन गर्न पनि आग्रह गरेका थिए ।

sds

समुहलाई गार्डेन बनाउन कुल ७७ लाख ९१ हजार ३५३ रुपैया सहयोग आएको पनि समारोहमा सार्वजनिक गरिएको थियो । समुहका मनोज बस्नेतले हिसाब सार्वजनिक गर्दै सहयोग आएकोबाट हालसम्म ७१ लाख ७३ हजार ४८१ रुपैया निर्माण कार्यमा खर्च भएको जानकारी दिए । साथै, ६ लाख १७ हजार ८७२ रुपैया रकम वचत रहेको पनि उनले खुलाए ।

कार्यक्रममा रक गार्डेनका डिजाइनर पुर्वब्रिटिश आर्मी गोपाल राई र गार्डेन निर्माणको इञ्चार्जकोरुपमा निरन्तर खटिएका एकराज राईलाई सम्मान गरिएको थियो । समुहकी उपाध्यक्ष मुना थेवेले स्वागत मन्तव्य र संरक्षक हर्कराज लिम्बुले संस्थाले विगतमा गरेको गतिविधिहरुकोबारेमा जानकारी दिएका थिए ।

सबैको भावना जोडेर एकता र सहकार्यमा हिड्नुपर्छ: उपमेयर बेघा

sds6

उपमेयर अइन्द्र बिक्रम बेघाले धरानको विकास र समृद्धिको लागि सबैको भावना जोडेर एकता र सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका छन् । रक गार्डेन उद्घाटन तथा हस्तान्तरण समारोहमा बोल्दै उनले सचेत धराने समुहले धरानको विकास र समृद्धिको लागि एकता, शान्ति, सामुहिकताको कुरालाई शिर्षस्थानमा राखेर नेतृत्व वर्गलाई महत्वपुर्ण सन्देश दिएको पनि बताए ।

‘हामी चाहन्छौं, धरान मिलेर बसोस्, विकास र समृद्धि तीब्रगतिमा अघि बढोस, सबै मिलेर सबैको भावना जोडेर अघि बढोस्, हाम्रो भुमिका त्यही रहनेछ,’ उनले भने । उपमेयर बेघाले धरानलाई एउटै बाटो र लयमा हिडाउन चाहेको तर बिच बिचमा समस्या आइरहेको बताए ।

‘कतिलाई नरमाइलो लाग्दो हो, कतिलाई रमाइलो लाग्दो हो । कति अझै लड भन्दो हो, त्यसो भन्ने अपराधी हुन्, धरानका विकास विरोधी हुन्,’ उनले भने,‘जसले जनप्रतिनिधिहरु, नेतृत्वकर्ताहरु एकतावद्ध भएर सबैको भावना जोडेर अघि बढुन् भन्नुहुन्छ, ती मान्छेहरु धरानको विकास, समृद्धि र हित चाहने नागरिक हुन् । त्यो नागरिकको टिम सचेत धराने समुह हो ।’ उनले सचेत धराने समुहले मिलेर, एकले अर्कालाई सहयोग गरेर जानुपर्छ भन्ने गरेको स्मरण पनि गरे । 

sds3

यस्तै, वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले फुस्रेको इतिहास पुर्नजागरण गराउदै पर्यटक भित्र्याउनुपर्छ भनेर आफ्नो अघिल्लो कार्यकालमा केही काम शुरुवात गरेको बताए । सर्दु रक गार्डेन भनेर काम थालिए पनि निरन्तरता नहुदा कुपोषण लागेर बसेको बेला सचेत धराने समुहले निर्माणको नेतृत्व गर्दा खुशी लागेको बताए ।

‘हिजोका दिनमा फुस्रे चोक व्यापारीक केन्द्र थियो, तर पछि सुस्तायो । पुर्नजागरण गर्ने क्रममा सर्दु रक गार्डेन बनाउन थाल्यौ, तर कुपोषण लागेर बसेको थियो,’ उनले भने, ‘तर सचेत धराने समुहले निर्माण नेतृत्व गर्दा खुशी लागेको थियो । बीचमा अनेक कुरा भए, भत्काउन आउदैछ रे भन्ने अफवाह फैलाइयो, त्यसो नगरौ । हामी सबै धरान बनाउनकै लागि आएको हो ।’

sds4

मेयर साम्पाङले वेवारिसे अवस्थाको ठाउँलाई हेर्नलायक बनाउने सचेत धराने समुह र श्रमदाताहरुलाई धन्यावद व्यक्त गरेका थिए । मेयर साम्पाङले आफुहरु झगडा गरेको नभएर कार्यपालिकामा बहस, तर्क विर्तक गरेको धारणा राखे । ‘हामी झगडा गरेको होइन । बहस हुन्छ, तर्क वितर्क हुन्छ, फरक मत राख्न पाइन्छ लोकतन्त्रमा । फरक मतमा छलफल भएको मात्र हो,’ उनले भने ।

sds2

मेयर साम्पाङले आफु निवार्चित भएर आएपछि रक गार्डेन निर्माणमा सरकारी बजेट एक रुपैया पनि लगानी नभएको बताए । उनले एक करोड बढी लगानी भएको भनेर फेसबुकमा हल्ला भइरहेको भन्दै विगतमा लगानी भएको हुनसक्ने बताए । तर, के कुरामा खर्च भएको भनेर खोज्ने बेला भएको उनले बताए । ‘यो रक गार्डेन सचेत धराने समुहका दाजुभाई दिदीबहिनीहरुले दुःख गरेर बनाएको हो । धरान समाज युके, हङकङमा रहनुभएकाहरुले आर्थिक सहयोग गर्नुभएको छ,’उनले भने,‘उहाँहरुले बनाउनु भएको हो, यसको श्रेय सचेत धराने समुहलाई जान्छ, अफवाह फैलाइरहनु पर्दैन ।’

भिडियो:

भिडियो:

भिडियो: