धरान: ऐतिहासिकस्थल हो धरान १३ फुस्रे । उहिल्यै यही फुस्रेको बाटो हुँदै पुर्वी पहाडी जिल्लामा मानिसहरु आवतजावत गर्थे ।

सप्तकोशीमा ब्यारेज निर्माण गरिदा यही फुस्रेबाट ढुंगा निर्यात गरिएको थियो । त्यसको लागि यहाँ रोप वे (घिर्लिङ) बनाइएको थियो । त्यसको अवशेष अहिले पनि देख्न सकिन्छ । कोशी राजमार्गको धरान–धनकुटा सडक खण्ड बनेसँगै पुरानो बाटो ओझेल पर्यो, र नाम अनुसारकै ठाउँ भयो, फुस्रे । लामो समयसम्म फुस्रेको ऐतिहासिकता गुमनाम रह्यो ।

पछिल्लो समय भने फुस्रे चर्चामा छ । यहाँ ओशो आश्रम स्थापना गरेर ध्यान शिविर गर्न थालेपछि मानिसहरुको चहलपहल शुरु भएको थियो भने गत बर्ष सर्दु पुलमाथि फ्लावर ब्रिज निर्माण भएपछि फुस्रे चर्चामा मात्र रहेन, पर्यटकीय गन्तव्य नै बन्यो । वडा नम्बर २० तर्फ अहिले वीपी पार्कको काम धमाधम भइरहेको छ भने धरान १३ (वारी)तर्फ रक गार्डेन निर्माण भइरहेको छ ।

rock-garden2

रक गार्डेन निर्माण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठका अनुसार सर्दु किनारमा विभिन्न खालका ढुंगाहरु छन्, तिनलाई प्राकृतिकरुपमा नै संरक्षण गरेर इतिहास दर्शाउने गरी कलाकृत्रि खोप्ने योजना वमोजिम रक गार्डेनको योजना अघि बढेको हो । यसको लागि यो आर्थिक बर्षमा प्रदेश सरकारबाट ४० लाख बजेट आएको छ । ‘ढुंगाको संग्राहलय जस्तो बन्छ, ढुंगामा विभिन्न आकृति, कलाकृत्रिहरु बनाउछौं । ठुलठुला विभिन्न कलरका ढुंगाहरु छन् । जहाँ छन्, त्यही राखेर कलाकृत्ति निकाल्छौ,’उनले भने ।

rock-garden1

अध्यक्ष श्रेष्ठका अनुसार तत्काल एउटा अर्ना र चौरीको मुर्ति बनाइनेछ । २०४० सालसम्म सोलु र ताप्लेजुङबाट जाडो छल्न चौरी लिएर फुस्रेमा आउने गर्थे । त्यसरी आउदा जडीबुटी पनि ल्याउने र फर्कदा लत्ताकपडा, खाद्यान्नहरु लैजाने गर्थे । ‘अर्नाको बासस्थान सुनसरीमा नै छ, लोपोन्मुन पनि हो । यसको प्रचार र पहिचानको लागि हो,’उनले भने,‘रमणीय ठाउँ बनाउने योजना छ । यसपाली पहिलो चरणमा वाल लगाएर स्टिलको रेलिङ बनायौं ।’ त्यसो त यसअघि नै धरानका कलाकारहरुले ढुंगामा चितुवा, अजिंगर, हाँसलगायत कलाकृत्रि बनाएका थिए । यसले पनि आन्तरिक पर्यटकहरुलाई आकर्षित गरिरहेको छ ।

rock-garden6 rock-garden4bp1 bp-park4