धरान: धरानमा जारी प्रथम मदन भण्डारी स्मृति महिला फुटबल प्रतियोगितामा फेयर फुटबल क्लब पनि फाइनल प्रवेश गरेको छ ।
धरान १६ स्थित रंगशालामा बुधबार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा पटनाली फुटबल क्लबलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गर्दै फेयर क्लबले फाइनलमा धरान लेडिज टिमसँग भेट पक्का गरेको हो । मंगलबार धरान ४ फुटबल क्लबलाई पराजित गर्दै धरान लेडिज टिमले फाइनल यात्रा तय गरिसकेको थियो ।
बुधबार निर्धारित समयको खेल एक एक गोलको बराबरीमा टुंगिएपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको थियो । निर्धारित समयको खेलमा पहिलो हाफ गोलरहित भएको थियो । दोस्रो हाफमा भने१८ औं मिनेटमा पटनालीकी प्रियंका लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । तर, खेलको २९ औं मिनेटमा फेयर क्लबकी करिन लिम्बुले गोल गर्दै खेल बराबरी बनाइन् ।
पेनाल्टी सुटआउटमा फेयर क्लबकी करिन लिम्बु र आकृति लिम्बुले गोल गर्दा पटनालीबाट ४ खेलाडीले गोल गर्न असफल भए । पटानालीकी यन्चो लिम्बु, ललिता लिम्बु, युविना लिम्बु र प्रविसा लिम्बु गोल गर्न सकिनन् । फेयर क्लबकी नम्रता राईको प्रहार असफल भएपनि टिमको फाइनल यात्रा रोकिन भने सकेन ।
खेलको प्लेयर अफ दि म्याच करिन लिम्बु घोषित हुदै नगद २ हजार हात पारिन् । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजेताले नगद ५० हजार, ट्रफी पाउनेछ भने उपविजेताले नगद २५ हजार हात पार्नेछ ।