धरान: शारीरिक सुगठन खेल क्षेत्रमा चिरपरिचित नाम हो, स्वर्गीय राजभगत प्रधानाङ्ग । उनको करिब ५ बर्षअघि निधन भएको थियो ।
शारीरिक सुगठन तथा भारोत्तोलनका अन्तराष्ट्रिय खेलाडी र निर्णायक प्रधानाङ्गको स्मृतिमा प्रथम मिस्टर स्टेट राजभगत क्लासिक बडिबिल्डिङ च्याम्पियनसिप २०८२ आयोजना हुनेछ । धरान फिटनेस क्लबको आयोजनामा आगामी असोज १० र ११ गते प्रदेशस्तरीय प्रतियोगिता हुन लागेको हो । क्लबले बिहिबार धरान १२ चतरालाइनस्थित ब्याक यार्ड रेष्टुरेष्टमा पत्रकार सम्मेलन गर्दे प्रतियोगिताबारे जानकारी दिएको हो ।
क्लबका सञ्चालक एवं स्वर्गीय राजभगतका छोरा कबिर भगत प्रधानाङ्गका अनुसार प्रतियोगिता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसहरा हलमा हुनेछ । प्रतियोगितामा सुनसरी, मोरङ र झापाबाट खेलाडीहरु सहभागी हुने पनि उनले जानकारी दिए । पहाडी जिल्लामा शारीरिक सुगठनका खेल विस्तार हुन नसकिरहेको कारण खेलाडी संख्या पनि ती जिल्लाबाट नहुने उनको भनाई छ ।
प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ लाख, दोस्रो हुनेले २ लाख, तेस्रोले १ लाख, चौथोले ७५ र पाँचौं स्थान हुने खेलाडीले नगद ५० हजार पाउनेछन् । यस्तै, प्रत्येक तौल समुहमा दोस्रो र तेस्रो हुने खेलाडीले जनही १५ र १० हजार नगद पुरस्कार पाउनेछन् । मोष्ट मस्क्युलर र बेष्ट पोजरले पनि जनही १५, १५ हजार नगद पुरस्कार पाउनेछन् ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी माथिको तौल समुहमा स्पर्धा हुनेछ । पहिलो दिन प्रिजजिङ राउण्ड हुनेछ । उक्त राउण्डबाट प्रत्येक तौल समुहमा ५ वा ६ जना खेलाडी छनौट हुनेछन् । दोस्रो दिन हुने स्पर्धाबाट प्रत्येक तौल समुहमा पहिलो हुने खेलाडीले उपाधिको लागि हुने मुख्य स्पर्धा ओभरअल राउण्डमा भिड्ने अवसर पाउनेछन् ।
प्रतियोगितामा कम्तीमा २० लाख खर्च हुने अनुमान गरिएको पनि क्लब सञ्चालक प्रधानाङ्गले जानकारी दिए । प्रतियोगिताको लागि प्रदेश सरकार, स्थानीय सरकारसँगै विभिनन संघसंस्था, व्यक्तिगत सहयोग जुटाउने उनको भनाई थियो । यो प्रतियोगितामा प्रत्येक २ बर्षमा आयोजना गर्ने खुलाउदै उनले वातावरण मिलेमा राष्ट्रियस्तरको पनि प्रतियोगिता गर्ने सोच रहेको बताए ।
स्वर्गीय प्रधानाङ्गले नेपालकै पहिलो वलियो व्यक्तिको उपाधि पनि जितेका थिए । नेपालमै पहिलो पटक आयोजना भएको शारीरिक सुगठन मिस्टर धरानको दोस्रो सँस्करण (२०२८) मा स्वर्गीय प्रधानाङ्ग प्रथम भएका थिए । उनले २०३२ सालमा धरान व्यायम मन्दिर सञ्चालनमा ल्याएका थिए । यो धरानको पहिलो जिम हल थियो भने नेपालकै दोस्रो थियो । प्रतियोगिता सफल भएमा मोरङको केराबारीमा घरभित्र सञ्चालन भइरहेको एक जिमलाई मेशिनहरु सहयोग गर्ने उद्देश्य राखिएको पनि सञ्चालक प्रधानाङ्गले बताए ।
अग्रज पत्रकार हर्ष सुब्बाले शारीरिक सुगठन खेलको विकास र विस्तारमा स्वर्गीय प्रधानाङ्गको ठुलो योगदान रहेको बताए । बुबाले देखाएको बाटोलाई छोरा (कविर)ले व्यवसायिकरण गरेको भन्दै उनले खुशी पनि व्यक्त गरे । यस्तै, कार्यपालिका सदस्य विकास भाटीले स्थानीय सरकारकोतर्फबाट सकेसम्म सहयोग हुने बताए भने सुनसरी जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष अमन श्रेष्ठ, लायन धिरज गुरुङ्गले पनि सहयोग गर्ने बताए ।
भिडियो: