धरान: स्वतन्त्र नागरिक समाज धरानका उपाध्यक्ष समिर तामाङ भानुचोकबाट पक्राउ परेका छन् ।

प्रहरीको फरार सुचीमा रहेका तामाङ आफै गिरफ्तारी दिने घोषणा गरेर दिउँसो ३ बजे भानुचोक पुगेका थिए । उनी विरोधसभामा बोलिरहेको बेला प्रहरी आएर पक्राउ गरेको थियो । उनीविरुद्ध आपराधिक उपद्रव कसुरमा मुद्दा रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए । यो कसुरमा अन्य केही व्यक्तिहरु अझै फरार रहेकोले खोजी कार्य भइरहेको उनले बताए ।

तामाङ मेयर हर्क साम्पाङको टिमका महत्वपुर्ण अगुवा हुन् । स्वतन्त्र नागरिक समाजको उपाध्यक्षसमेत रहेका उनी गएको प्रदेशसभा निर्वाचनमा सुनसरी १ (१) बाट उम्मेद्वारी पनि दिएका थिए । 

तामाङ पक्राउ परेसँगै धरानको पछिल्लो घटनामा समातिनेको संख्या ९ पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न पुगेकी सञ्जिता धमलालाई आक्रमण गरेको आरोपमा ५ जनालाई साउन २ गते पक्राउ गरेको थियो । उनीहरुलाई अभद्र व्यवहार कसुरमा प्रहरीले मुद्दा चलाएको छ । साउन ३ गते प्रहरीले सृर्जना बेघा र पुर्ण वान्तवालाई पक्राउ गरेको थियो भने हिजो सोमबार साँझ वडा न. ५ की संगीता राईलाई पनि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय इनरुवामा राखिएको छ।

samir tamang

साउन २ गते वीपी प्रतिष्ठानबाट ५ जना महिला पक्राउ परेपछि ईलाका प्रहरी कार्यालय धरान घेराउ र नाराबाजी भएको थियो । त्यसबेला प्रहरी कार्यालयको गेट लात्ती हान्ने, जर्बजस्ती हल्लाउने र चढेर भित्र प्रवेश गर्ने प्रयास पनि भएको थियो । प्रहरी प्रशासनले उक्त घटनालाई संवेदनशीलरुपमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो । 

पक्राउ परेका ९ जना मध्ये समीर तामाङ, पुर्ण वान्तवा र सृर्जना बेघालाई उक्त घटनामा संलग्न भएको आरोपमा आपराधिक उपद्रव कसुर लगाएको प्रहरीको भनाई छ । सोही कसुरमा अन्य केही व्यक्तिहरु फरार सुचीमा छन् ।

भिडियो:

भिडियो: