धरान: खानेपानी व्यवस्थापन बोर्डले महशुल अत्यधिक वृद्धि गरेको विरोधमा धरानका १० राजनीतिक दलहरु सडकमा आन्दोलित भएका छन् ।

संयुक्त संघर्ष समिति गठन गरेका १० राजनीतिक दलहरुले आइतबार विरोध र्याली निकालेको थियो । धरान १ स्थित सिंहदेवी चोकबाट शुरु भएको विरोध र्याली खानेपानी बोर्डको कार्यालयमा पुगेको थियो । र्याली पुग्नुअघि नै बोर्डको गेटभित्र सशस्त्र र नेपाल प्रहरी तैनाथ थिए । त्यहाँ केहीबेर चर्का नाराबाजी भएको थियो । गेट हल्लाउने प्रयास भएपनि राजनीतिक दलका नेताहरुले भिडलाई नियन्त्रणबाहिर जान भने दिएनन् ।

विरोध प्रर्दशनमा राजनीतिक दलका नेता, कार्यकर्ताहरुसँगै निवर्तमान सांसद जयकुमार राईदेखि उपमेयर अइन्द्रबिक्रम बेघा, वडाअध्यक्षहरु पनि सहभागी भएका थिए । दलहरुले धर्ना कार्यक्रम भनेपनि आइतबार खानेपानी बोर्ड अध्यक्षको कार्यकक्ष, निर्देशकको कार्यकक्ष र प्रशासनमा पनि तालाबन्दी गरेका थिए । उनीहरुले सोमबार १० बजेसम्म बोर्ड अध्यक्ष तथा मेयर हर्कराज राई (साम्पाङ)बाट ठोस निकास नआए विल काउन्टरहरुमा पनि तालाबन्दी गर्ने घोषणा गरेका छन् ।

IMG_5519 copy

खानेपानी निःशुल्क खुवाउछु भनेर आन्दोलन गरेपनि मेयरमा निवार्चित भएपछि अत्यधिक महशुल वृद्धि गरेर जनतालाई महंगीको मारमा परेको भन्दै राजनीतिक दलहरु आन्दोलनमा उत्रिएका हुन् । यसअघि ७२ घण्टाको अल्टिमेटम दिएपनि बोर्डका अध्यक्ष मेयर साम्पाङले वार्तामा नबोलाएपछि राजनीतिक दलहरुले धर्ना र तालाबन्दीमा उत्रिएका हुन् । 

दलहरुले लगाएको ताला माग पुरा नगरि नखोल्न कांग्रेस सभापति श्याम पोखरेलले चेतावनी दिएका छन् । उनले भने,‘असार मसान्तभित्र जति शुल्क थियो, त्यति नबाउञ्जेल यो ताला खोल्ने चेष्टा भयो भने त्यसपछि हुने घटनाको जिम्मा बोर्ड अध्यक्ष र कार्यकारी प्रमुखले लिनुपर्ने हुन्छ । जर्बजस्ती ताला फुटाउने प्रयास भयो भने परिणाम स्वयमले भोग्नुपर्ने चेतावनी दिन चाहन्छौं ।’ उनले अल्टिमेटम दिएको १० दिनसम्म पनि वेवस्ता गरेकोले अब सहेर नबस्ने पनि बताए ।

IMG_5579 copy

तालाबन्दी पछि वृहत सभालाई निवर्तमान सांसद जयकुमार राई, पत्रकार एवं नेवार एकता समाजका अध्यक्ष महेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीका नेता अमर इजम, माओवादी केन्द्रका नेता फोक्वाहाङ चोत्लुङले सम्बोधन गरेका थिए । उनीहरुले आफुहरुको आन्दोलन मेयर साम्पाङको विरुद्धमा नभै खानेपानी बोर्डले एकलौटीढंगले सयौं गुणा बढी महशुल वृद्धिको विरुद्धमा भएको प्रष्ट पारे ।

साथै उनीहरुले राजनीतिक दलहरुले कहिल्यै पनि काम गर्न अवरोध नगरेको स्पष्ट पार्दै नाच्न नजान्ने आगन टेडो भन्ने उखान जस्तै मेयर साम्पाङले दोष अरुलाई दिइरहेको पनि बताए । राजनीतिक दल र जनताले तानाशाहहरुलाई ढालेको इतिहास स्मरण गराउदै उनले मेयर साम्पाङ अहिले पनि सच्चिएर अघि बढुन् भन्ने आफुहरुको चाहना गरेको पनि उनीहरुले बताए । एडिबिको ऋण तिर्नुपर्ने बहानामा जनतालाई महंगीको मारमा पार्न नहुने भन्दै उनीहरुले सोमबार १० बजेभित्र वार्तामा नबोलाए थप सशक्त आन्दोलन हुने पनि नेताहरुले बताए ।

भिडियो:

भिडियो: