धरान: खानेपानी महशुल वृद्धि गरिएकोबारे उपमेयर अइन्द्रबिक्रम बेघासहित वडाअध्यक्षहरुले खानेपानी बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ)लाई ज्ञापन पत्र बुझाएका छन् ।

महशुल साविककै कायम गर्नुपर्ने भन्दै आन्दोलनरत १० राजनीतिक दलहरुले शुक्रबार सबै वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए । सोही ध्यानाकर्षण पत्र लिएर उपमेयर बेघासहित वडा नं १५ का अध्यक्ष नरेश इवारम, वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज) र वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले मेयर साम्पाङलाई पत्र बुझाएका हुन् । 

नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडा १७ का अध्यक्ष भट्टराईले खानेपानीको मुल्यवृद्धि फिर्ता गर्न माग गरेर वडामा आएको ध्यानाकर्षण पत्र मेयरलाई बुझाएको बताए । उनले भने,‘वडा कार्यालयहरुमा ज्ञापन पत्र बुझाइएको थियो । त्यही ज्ञापनको ध्यानाकर्षण पत्र मेयलाई बुझाएको हो । मुल्यवृद्धि फिर्ता होस् भन्ने जनताको चाहना छ, त्यसमा हाम्रो समर्थन छ भनेर बुझाएका हौं ।’

ज्ञापन पत्र बुझाउन गएका उपमेयर र वडाअध्यक्षहरुले आज दिउँसो २ बजेको लागि तय गरेको कार्यपालिका बैठक सार्न पनि मेयरलाई मौखिक आग्रह गरेका थिए । ‘आज १ बजे खानेपानी बोर्डमा धर्ना कार्यक्रम जनताबाट हुदैछ, त्यसैले आजको बैठक सारौं भन्ने हामीले मौखिक आग्रह गरेका छौं,’ उनले भने । 

कार्यपालिकामा प्रतिनिधित्वव गर्ने प्रमुख दल एमाले, कांग्रेस र माओवादीका संसदीय दलका नेताहरुले नै कार्यपालिका बैठक सार्न आग्रह गरेपछि मेयर साम्पाङले पनि उक्त बैठक नबस्ने बताएका छन् । उनले २ बजे पत्रकारहरुलाई खानेपानीको महशुल वृद्धिबारे आफ्नो धारणा राख्ने जानकारी दिएका छन् ।