धरान: विभिन्न अनलाइन एप्समार्फत अनलाईन सट्टेबाज सम्बन्धी गैरकानुनी गतिविधि गरेको अरोपमा मोरङ प्रहरीले २ जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पनेमा विराटनगर महानगरपालिका १२ का २० बर्षीय उत्सव अर्याल र १८ बर्षीय उत्कृष्ट अर्याल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । मोरङ प्रहरी प्रवक्ता डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार दुवै जनाले एन्ड्रोइड मोबाइलमा वान एक्स बेट लगायत एप्स डाउनलोड गरेर सञ्चालन गरेको खुलेको छ । 

प्रहरीका अनुसार दुवैले अनलाइन डिजिटल खाताहरु समेतबाट सट्टेबाजी लिनेदिने दुवै कार्य गरिरहेका थिए । उनीहरुको कोठामा खानतलासी गर्दा कम्प्युटरको सि.पि.यु. र राउटर एक एक थान, मोवाइल २ थानसमेत वरामद गरिएको डिएसपी बस्नेतले जानकारी दिए । उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ वमोजिम सट्टेबाजी गर्न नहुने कसुरमा मोरङ जिल्ला अदालतबाट म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।