मोरङ: मोरङको विराटनगर १६ स्थित भट्टीमोडबाट ठुलो रकमको बाजी राखी जुवा वा सट्टेबाजी खेल खेलाउने ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ३७ बर्षीय पुरूषोत्तम साह, ३५ बर्षीय मन्जित साह र विराटनगर १५ का २८ बर्षीय अपजर अली रहेका छन् । पक्राउ परेका तिनै जनाले यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सट्टेबाजीको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो राती साढे ११ बजे पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुको साथबाट नगद २८ हजार ५ सय रुपैंया, ३ थान डायरी, ५ थान मोबाईल र को १८ प ६८८९ नम्बरको मोटरसाईकल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरुले अनलाइनबाट कुन टिमको हारजित हुन्छ भनेर बाजी मार्नका लागी रकम कबोल गराए सट्टेबाजी खेल खेलाउने गरेको अनुसन्धानबाट खुलेको मोरंग प्रहरीले जनाएको छ । पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ।