धरान: मिसेस स्टेट २०२५ सिजन थ्री कोशी प्रदेश यही जेठ १७ गतेदेखि शुरु हुने भएको छ । 

वुमन्स वर्थ ग्रुप (डव्लुडव्लुजे) ले पत्रकार सम्मेलन गर्दै गृहणी महिलाहरुलाई लक्षित गरेर आयोजना हुने मिसेस स्टेटको तेस्रो सँस्करणबारे जानकारी दिएको हो । आयोजकका अनुसार सिसेस स्टेट २०२५ को ग्रान्ड फिनाले यही जेष्ठ १७ गते शनिबार धरान १६ स्थित गुरुङ विविक्यु पार्टी प्यालेसमा हुनेछ ।

वैवाहिक जीवन पछाडि पनि महिलाहरुमा भएको क्षमतालाई प्रदर्शन र अभिवृद्धि गर्ने उद्देश्यले ग्रुपले मिसेस स्टेट प्रतियोगिता आयोजना गरेको अध्यक्ष सुजता श्रेष्ठले बताइन् । अध्यक्ष श्रेष्ठका अनुसार गृहणी महिलाहरुको क्षमता अभिवृद्धि गर्न र उनीहरुमा भएको प्रतिभालाई बाहिर निकाल्न अवसर प्रदान गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिइएको हो ।

यो संस्था सन २०१८ मा स्थापना भएको हो । सोही बर्ष संस्थाले मिसेस स्टेट आयोजना गरेको थियो । पहिलो र दोस्रो संस्करण सफलतापुर्वक सम्पन्न भएपनि २०२० मा तेस्रो संस्करण तयारी गरिहदा कोरोना महामारीको कारण कार्यक्रमहरु स्थागित भएको थियो । करिव ५ बर्ष पछि तेस्रो सँस्करणलाई निरन्तरता दिएको पनि संस्थाका पदाधिकारीहरुले बताएका छन् । अब कार्यक्रमसँगै संस्थालाई पनि सक्रिया बनाउने उनीहरुको भनाई छ । 

मिसेस स्टेट २०२५ सिजन थ्रीमा सहभागिताको लागि पहिलो अडिसन वैशाख ६ गते शनिवार धरान ९ पुतलिलाइन स्थित हाङकुक साराङ कोरियन रेष्टुरेन्टमा हुने आयोजकको भनाई छ । यस्तै, दोस्रो अडिसन वैशाख १३ गते धरान १० पुतलीलाइनस्थित चौठो रेष्टुरेन्टमा हुनेछ । यस्तै,  वैशाख १८ गते विहिवार अडिसनमा छनौट भएका प्रतिस्पर्धी र उनीहरुको अभिभावकसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने आयोजक समितिका सचिव ज्योति राईले जानकारी दिइन् । 

छनौट भएकाहरुलाई वैशाख २० गतेदेखि तीन हप्तासम्म विभिन्न विधामा प्रशिक्षण गराइने अयोजकले जनाएको छ । सहभागीहरुको क्षमता अभिवृद्धिका लागि उनीहरुलाई सम्वन्धित विज्ञहरुद्धारा नयाँ संविधानमा महिला अधिकार, महिला सशक्तिकरण तथा लैंगिक समानता, महिला उद्यमशिलता, महिला न्यायिक अधिकार, सकरात्मक सोचाइ अभिवृद्धि तालिम, उद्घोष तथा भाषणकला तालिम, टेवल शिष्टाचार तालिम, फिटनेस तालिम, आत्मरक्षा तालिमलगायत दर्जन बढी बिषय र क्षेत्रको तालिम दिइने आयोजकको भनाई छ । 

मिसेस स्टेट २०२५ सिजन थ्रीका विजेता, फस्ट रनर अप र सेकेन्ड रनरअपले जनही  क्रमशः नगद ५१ हजार, २५ हजार र १५ हजार रुपैया, ताज, ट्रफी र गिफ्ट ह्याम्पर पाउने आयोजक समितिकी कोषाध्यक्ष रोजी श्रेष्ठले बताइन् । यस्तै, टाइटल अवार्डमा मिसेस ट्यालेन्ट, मिसेस पर्सनालिटि, मिसेस व्युटिफुल, मिसेस फ्रेन्डसिप, मिसेस वेस्ट वक, मिसेस स्माइल, मिसेस फोटोजेनिक, मिसेस डिसिप्लिन, मिसेस एक्टिभ र पिपल्स च्वइस अवार्ड पनि दिइने आयोजकले जनाएको छ । उनीहरुले ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको कोरियोग्राफर डिजे ललित रहने छन् ।