धरान: धरान वडा नं ६ पानवारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या उनकै श्रीमान्को योजना र निर्देशनमा भएको खुलेको छ ।
ईलाका प्रहरी कार्यालय धरानमा बिहिबार पत्रकार सम्मेलन गर्दे जिल्ला प्रहरी प्रमुख एवं एसपी सुमनकुमार तिम्सिनाले मृतक चुनकुमारीकै श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजना र निर्देशनमा हत्या भएको जानकारी दिए । उनले भने,‘पारिवारिक विवाद र पाविारिक असन्तुष्टी, श्रीमान श्रीमतिबीचको असन्तुष्टीबाट जन्मिएको घटना श्रृंखला हो ।’ एसपी तिम्सिनाले घटनालाई प्रमाणयोग्य बनाउन सबै खाले अनुसन्धान गरिरहेको पनि बताए ।
प्रहरीका अनुसार अनुसन्धानबाट चुनकुमारी हत्या प्रकरणमा श्रीमान्सहित ७ जना संलग्न भएको देखिएको छ । ती मध्ये ६ जना पक्राउ परिसकेका छन् भने एक जना भारतीय नागरिक फरार छन् । पक्राउ परेका ६ जनामध्ये मृतकका श्रीमान् प्रेमलाई कारियाबाट आएलगत्तै प्रहरीले काठमाण्डौं विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । उनीहरुलाई पहिलो पटक ८ दिनको म्याद थप भएको पनि प्रहरीले जनाएको छ ।
हत्या प्रकरणमा पक्राउ पर्नेहरु घरपरिवारकै सदस्यहरु भएको पनि एसपी तिम्सिनाले जनाएका छन् । पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३१ बर्षीय प्रेमबहादुर बुढाथोकी हुन् । उनी दक्षिण कोरियामा रहदा नै श्रीमति चुनकुमारीलाई हत्या गर्ने योजना बनाएको पनि प्रहरीको भनाई छ ।
यस्तै, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगमचोक बस्ने मुख्य योजनाकार प्रेमको आफ्नै भाई २९ बर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमति २५ बर्षीय सृष्टी बुढाथोकी पनि पक्राउ परेका छन् ।
यसैगरि, पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई विगत ७ बर्षदेखि मोरङको उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने ३६ बर्षीय योगेन्द्र गौतम पनि पक्राउ परेका छन् । उनी प्रेमबहादुरका कान्छा ज्वाई भएको प्रहरीले जनाएको छ । उनकी श्रीमति २८ बर्षीय डेनु गौतम र मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० बर्षीय केशवराज दाहाल पनि पक्राउ परेका छन् ।
घटनामा संलग्न भारतीय नागरिक आसाम राज्यको तेजपुर खकन बस्तीका ३५ बर्षीय राजु थापा मगर भने फरार छन् । उनी मुख्य योजनाकार प्रेमको भाई बुहारी सृष्टीको दाजु भएको पनि प्रहरीको भनाई छ । उनलाई पनि पक्राउ गरेर ल्याउन भारतीय प्रहरीसँग आवश्यक समन्वय र पहल भइरहेको धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
शव भेटिएको अघिल्लो राती हत्या
प्रहरीका अनुसार चुनकुमारीको शव चैत २५ गते मध्याह्न साढे १२ बजे स्थानीयले देखेर खबर गरेका थिए । उनको हत्या अघिल्लो राती नै कुटपिट गरेर भएको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । श्रीमान्ले श्रीमतिलाई परपुरुषसँगको सम्बन्ध भएको शंक गर्ने र उनीहरुबीच सम्बन्ध बिग्रदै गएर जघन्य हत्या हुन पुगेको एसपी तिम्सिनाले जानकारी दिए ।
शवको प्रकृति हेर्दा हत्या गरेको हुनसक्ने देखिएपछि एसपी तिम्सिना आफै घटनास्थल आएका थिए भने कोशी प्रदेश प्रहरी कार्यालयबाट पनि डिएसपीको टोली अनुसन्धानमा आएको थियो । अनुसन्धानमा कोशी प्रदेश प्रहरी कार्यालयबाट डिएसपी दुर्गा दाहाल, धरानका डिएसपी प्रकाश जबेगु, इन्स्पेक्टर दिवस कुँवरले धेरै मेहनत गरेका थिए । तीन दिनसम्म शवको सनाखत नहुदा अनुसन्धान कार्य प्रभावित हुन पुगेपनि पहिचान खुलेलगत्तै प्रहरी अनुसन्धानले गति लिएको थियो ।
प्रहरीका अनुसार चैत २९ गते ढकेन्द्र बुढाथोकी, उनको श्रीमति सृष्टी बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाल उनीहरुकै घरबाट पक्राउ परेका थिए भने चैत ३० गते योगेन्द्र गौतमलाई नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, मुख्य योजनाकार मृतकको श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई घरपरिवारसँग समन्वय गरी नेपाल झिकाएको र बैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा प्रयोग भएको ३ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्वयोजना अनुसार नै मृतकको छोरालाई अघिल्लो दिन पहाड घर पठाएर मृतकलाई श्रीमान्ले आफन्त भेट्न पठाएको र योजना वमोजिम राती जंगलमा ल्याएर कुटपिट गरी हत्या गरेको डिएसपी जबेगुले बताए । हत्या गराउनकै लागि आर्थिक प्रलोभन देखाएर भारतको असमबाट प्रेमको भाई बुहारी सृष्टीको दाजु राजु थापा मगरलाई बोलाएको पनि प्रहरीले जनाएको छ । ‘अनुसन्धानको प्रारम्भिक चरणमा नै छौं । श्रीमान् पक्राउ परेर आज मात्र म्याद थप भएको छ, हत्याको कारणहरु अन्य पनि छन् कि त्यो खुल्न बाकी छ,’ डिएसपी जबेगुले भने ।
भिडियो: