धरान: सम्पन्न भइसकेका योजनाहरुको भुक्तानी हुनलागेको फाइलहरु रोकिएपछि धरानका उपमेयर, वडाअध्यक्षहरुले मेयर हर्कराज राई (साम्पाङ)लाई भेटेर भुक्तानी प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।
उपमेयर अइन्द्रबिक्रम बेघा, वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले आइतबार मेयर साम्पाङलाई कार्यकक्षमा भेटेर लिखित पत्र बुझाउदै भुक्तानी प्रक्रिया सुचारु गर्न आग्रह गरेका हुन् । स्वीकृत योजनाहरु नियम संगतढंगले अनुगमनसमेत भइसकेको र भुक्तानी गर्ने बेलामा मेयर साम्पाङले असार १६ गतेदेखि ती फाइलहरु आफु मातहत ल्याएर अवरोध गरेको कारण संघ र प्रदेशको बजेट फ्रिज हुने अवस्थामा पुगेको पत्रमा उल्लेख छ ।
उक्त बजेट फ्रिज भएमा प्रदेश र संघबाट सोही शिर्षकमा पुनः बजेट विनियोजन नहुने र धरान उपमहानगरपालिकालाई ठुलो दायित्व सृर्जना भएर आर्थिक संकट ल्याउने भएकोले योजनाको रकमहरु भुक्तानीको प्रक्रिया आजैबाट थाल्न आग्रह गरिएको छ ।
यस्तै, मेयर साम्पाङले असार १९ गते प्रमुख प्रशासकीय अधिकृतलाई लेखेको स्पष्टीकरण नियमसंगत नभएकोले उक्त पत्र खारेज गर्दै विधि विपरीत काम गर्न कर्मचारीलाई आतंकित बनाउने कार्य बन्द गर्न पनि उक्त पत्रमा उल्लेख छ । साथै, विधिलाई स्थापित गर्न र नगरपालिकाको कामलाई संस्थागत गर्न आफुहरु दृढ रहेको पनि पत्रमा उल्लेख छ ।
भिडियो