धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगरपालिका समितिको प्रथम अधिवेशनले नयाँ वैधानिक समिति चयन गरेको छ । 

पार्टी गठन भएदेखि नै तदर्थ समितिकोरुपमा धरानमा काम गरिरहेको रास्वपाको प्रथम अधिवेशन शुक्रबार धरान ८ स्थित लांघाली सामुदायिक वन समुहको हलमा सम्पन्न भएको थियो । पार्टीको केन्द्रीय सदस्य तथा सुनसरीबाट संघीय सांसद अशोककुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सभापतिमा सुमन श्रेष्ठलाई निवार्चित गरेको छ । श्रेष्ठ यसअघि पनि तदर्थ समितिको सभापतिकोरुपमा नै रहेका थिए ।

raswapa copy

अधिवशेनबाट विधान वमोजिम श्रेष्ठको सभापतित्वमा २१ सदस्यीय समिति गठन भएको छ । यद्यपी, अधिवेशनले १४ जनालाई मात्र चयन गरेको छ भने बाँकी रिक्त पद चाडै पदपूर्ति गरिने नवनिवार्चित सभापति श्रेष्ठले जानकारी दिए । समितिको उपसभापतिमा राम कार्की र सचिवमा ख्यामप्रसाद फुँयाल चयन भएका छन् भने सहसचिवमा सन्दिप शाक्य चयन भएका छन् । 

यसैगरि, सदस्यहरुमा अतुल श्रेष्ठ, तोर्णबहादुर कार्की, बनप्रसाद गुरुङ, थाङ्गाबहादुर राई, मिरा लोहार, सुनिता श्रेष्ठ, इन्द्रबहादुर कार्की, जीवन आचार्य, मेघराज पोखरेल र मनकुमारी विश्वकर्मा चयन भएका छन् ।