धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल बनाउन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्वामित्वबाट जग्गा फिर्ता ल्याउन पहल गर्ने निर्णय कागजमै सिमित भएको छ ।

गत फागुन अन्तिम साता बसेको कार्यपालिका बैठकले नगर प्रमुखको संयोजकत्वमा पहल समिति गठन गगरी सम्बन्धित निकायमा पहल गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय कार्यान्वयनमा पहलकदमी नभएपछि वडा नं १ का जनता आफैले पहल समिति गठन गरेर पहलकदमी थालेका छन् । 

वडा १ स्थित टेलिकम अफिस सनमार्ग टोल विकास संस्थाको अगुवाईमा बिहिबार बसेको वृहत भेलाले वडाअध्यक्ष यज्ञमणी आचार्यको संयोजकत्वमा १६ सदस्यीय पहल समिति गठन गर्ने निर्णय गरेको छ । सोही भेलाले वडाको समन्वयमार्फत नगरबाट नगर अस्पताल बनाउन पहल गर्ने, नगर अस्पताल बनाउन चाहिने मोडालिटी (डिपिआर) तयार गर्ने, पुर्ण सरकारी अस्पताल बनाउनुपर्नेमा जोडदिदै स्थानीय सरकार र वीपी प्रतिष्ठानलाई ज्ञापन पत्र बुझाउनेलगायत विभिन्न २१ बुँदे निर्णय पनि गरेको छ । 

भेलाले अघिल्लो बर्ष २०८१ फागुन २८ गते वीपी प्रतिष्ठानबाट जग्गा फिर्ताको पहल गर्ने कार्यपालिकाको निर्णय कार्यान्वयनमा नगएको निष्कर्ष पनि निकालेको छ । साथै, भेलाले धरान अस्पताल सञ्चालन गर्न समिति गठन गर्नुपर्ने, सिनेट बैठकलाई धरान अस्पताल बनाउदा आपत्ति छ छैन भनि ध्यानाकर्षण पत्र बुझाउने पनि निर्णय गरेको छ ।

पहल समितिका संयोजक एवं वडा नं १ का अध्यक्ष आचार्यले कार्यपालिकाले निर्णय गरेपनि पहल नभएपछि वडाबासीहरुले पहल गर्नुपर्छ भनेर समिति गठन गरेको बताए । ‘अब नगरसभाबाट पास गराएर केन्द्रसम्म पहल गर्नेछौं । कार्यापालिकाबाट निर्णय मात्र भयो, पहल भएन,’ अध्यक्ष आचार्यले भने,‘अहिले बीमा सेवाको जुन समस्या आयो, यसले पनि नगर अस्पताल तत्काल आवश्यक छ भन्ने देखियो । सबै धरानबासी यसमा उठ्नुपर्छ ।’

पुरानो अस्पतालको जीर्ण भवन र जग्गा धरानको वडा नं १ स्थित छाताचोकमा अवस्थित छ । विगतमा यो ठाउँमा धरान अस्पताल रहेको थियो, र जग्गाको स्वामित्व पनि नगरको थियो । तर, अहिले भने उक्त जग्गाको स्वामित्व सरकारले वीपी प्रतिष्ठानलाई दिएको छ । पुरानो अस्पताल भनेर परिचित जीर्ण भवन भएपनि हाल हाल धरान स्वास्थ्य चौकीको प्रसुती गृह सञ्चालनमा रहेको छ ।

नगर अस्पताल बनाउन निरन्तर दबाब

bima sewa

वीपी प्रतिष्ठानमा स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र कायम हुनुपर्ने माग लिएर आन्दोलित सर्वपक्षीय संघर्ष समितिले पनि अब नगर अस्पताल बनाउन निरन्तर दबाब दिन आन्दोलन केन्द्रीत गर्ने जनाएको छ । 

बीमा बोर्डले तीन महिनाको लागि मात्र वीपी प्रतिष्ठानमा प्रथम सेवा केन्द्र थप गरेको उल्लेख गर्दै संघर्ष समितिका सदस्य महेश श्रेष्ठले भने,‘यो बीचमा नगर अस्पताल वा आधारभुत स्वास्थ्य केन्द्र बनेन भने बीमा सेवाबाट बञ्चित भएर फेरि हामी सडकमै आउनुपर्ने हुन्छ । त्यसैले अब नगर अस्पताल बनाउन सबैले दबाब सृर्जना गरौं ।’

नगर अस्पतालको लागि जग्गा फिर्ताको पहल गर्ने कार्यापालिकाको निर्णय कार्यान्वयन गराउन पनि स्थानीय सरकारलाई झक्झकाउने श्रेष्ठले बताए । संघर्ष समितिका अर्का सदस्य फोक्वाहाङ सुब्बा (चोत्लुङ)ले पनि तीन महिनाको लागि मात्र बीमाको प्रथम सेवाबाट ढुक्क भएकोले स्थायी समाधान गर्न निरन्तर दबाब सृर्जना गर्नुपर्ने बताए । ‘बीपीबाट ३ महिनाको लागि मात्र सेवा थप भएको हो, त्यसपछि नगर अस्पताल वा आधारभुत स्वास्थ्य केन्द्र नै चाहिन्छ,’ उनले भने,‘असार २९ गते सबै स्थानीय तहलाई बीमा बोर्डले तयारी गर्नु भनिसकेकोले पनि स्थानीय सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ ।’

उनले नगर अस्पतालको लागि बीपीबाट जग्गा फिर्ता गराउन दबाब, संघर्ष गर्नुपर्ने बताए । साथै, स्थानीय सरकारले नगरसभाबाट नगर अस्पताल बनाउन आवश्यक बजेट विनियोजन पनि गर्न उनले माग गरे । ‘नगर सभाबाट नगर अस्पताल बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्छ । तीन महिनापछि बीपीबाट बीमाको प्रथम सेवा फेरि हट्छ,’ उनले भने,‘त्यसबेला नगरले जिम्मेवारीका साथ सेवालाई अघि बढाउने काम गर्नुपर्छ । यसको लागि अहिलेबाट नै तयारी थाल्नुपर्छ ।’

city hospital copy

city hospital1 copy

city hospital2 copy

city hospital3 copy