धरान: किरात लिम्बू समुदायको प्रमुख चाड चासोक तङ्नामको अवसरमा यो बर्ष पनि धरानमा पाँच दिने साँस्कृतिक उत्सव हुने भएको छ । 

किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गरेर चासोक तङ्नामङ उत्सवबारे जानकारी दिएको हो । चुम्लुङका अनुसार मंसिर १८ गतेदेखि २२ गतेसम्म विविध कार्यक्रमहरु आयोजना गरिनेछ । मंसिर १७ गते बुधबार बिहान धरान १४ विजयपुरस्थित हाङ्युक्ना सरसफाई र धरान ८ स्थित शिरिजङ्गा चोकमा सरसफाई कार्यक्रम हुनेछ । 

मंसिर १८ गते बिहिबार बिहान चासोक पूजा, हाङ्युक्ना सरसफाई तथा शिरिजंगा सालिकमा माल्र्यापण कार्यक्रम हुनेछ भने भानुचोकबाट र्याली पनि निकालिनेछ । बेलुकी तङ्सिङ अनुष्ठान पनि गरिने चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले जानकारुी दिए । चासोक तङ्नाम उत्सवको औपचारिक उद्घाटन भने मंसिर १९ गते शुक्रबार हुनेछ ।

मंसिर २० गते शनिबार केलाङ (च्याब्रुङ) नाच प्रर्दशनी तथा यलाङ, पालाम साँस्कृतिक कार्यक्रम हुनेछ भने मंसिर २१ गते आइतबार याक्थुङजन्य खेलहरु आयोजना हुनेछ । मंसिर २२ गते सोमबार चासोक उत्सव समापन समारोहसँगै आदिबासी जनजाति महासंघमा आवद्ध संस्थाहरुको साँस्कृतिक प्रर्दशनी पनि हुने अध्यक्ष मादेम्बाले जानकारी दिए । 

लिम्बू समुदायले मानवलाई खेतीपाती सिकाउने सिबेरा एक्थुम्मा, सिबेरा याबुङ्केक्मा देवीप्रति कृतज्ञता व्यक्त गर्न नयाँ फलाएको अन्न पहिलोपटक देवी देवतामा चढाएर मात्र खाने परम्परा नै न्वागी (चासोक)को प्रारम्भ मान्निछ । चासोक तङ्नाम धार्मिक चाड मात्र नभएर लिम्बू समाजको पहिचान, एकता र साँस्कृतिक गौरवको चाड बनेको पनि चुम्लुङले जनाएको छ ।

‘चासोक तङ्नाम किरात लिम्बू समुदायको प्रकृति, परिश्रम, कृतज्ञता र साँस्कृतिक गौरव झल्काउने चाड भएकोले नयाँ अन्नप्रति सम्मान, देवी देवता र पूर्वजप्रति आभार, र सामाजिक सद्भावका मुल्य र मान्यताले यो पर्वलाई अझ अर्थपूर्ण बनाएको छ,’ अध्यक्ष मादेम्बाले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।