विराटनगर: मोरङको केराबारी गाउँपालिका–५ स्थित बुढीखोला (बुढी गंगा) को काखमा ‘पितृ उद्धार अश्वमेध महायज्ञ कोटीहोम’ आयोजना हुने भएको छ । 

शिव बाबा भक्त समाज नेपाल, धरान–६ पानबारी सुनसरीको आयोजनामा माघ १९ गतेदेखि फागुन १९ गतेसम्म भव्य धार्मिक अनुष्ठानका साथ कोटीहोम आयोजना गरिने आयोजकले जनाएको छ । आयोजक समितिले शनिबार पत्रकार सम्मेलन गर्दै उक्त महायज्ञमार्फत धर्म, संस्कृति, परम्परा र अध्यात्मिक चेतनाको संरक्षण तथा प्रवद्र्धन गर्ने लक्ष्य लिएको जानकारी दिएको छ । 

समितिका अध्यक्ष रमेश कुटवालका अनुसार यो महायज्ञमा व्यक्तिसँग चन्दा संकलन गर्ने नभै विधिपुर्वक हवनमा पाकेका इटा, पितृमोक्ष कलश खरिद गर्ने र कर्ता बन्न इच्छुकबाट आर्थिक सहयोग संकलन गरिने पनि अध्यक्ष कटवालले बताए । कोटीहोमको पूर्वसन्ध्यामा माघ १९ गते बिहान १० बजे बुढीगंगाको किनारबाट वृहत कलश यात्रा निकालिनेछ । उक्त कलश यात्रामा हजारौँ श्रद्धालुको सहभागिता रहने आयोजक समितिको भनाई छ । 

उक्त कलश यात्रा केराबारीबाट हरैचा, विराटचोक, विराटनगर, दुहबी, खनार, इटहरी हुदै धरान नगरको परिक्रमा पछि तल्लो पानवारी हुदै महायज्ञस्थलमा आउने पनि अध्यक्ष कटवालले जानकारी दिए । कलश यात्राबाट यज्ञ स्थलमा आध्यात्मिक ऊर्जा सञ्चार गराउने परम्परा अनुरूप कलश यात्रा आयोजना गर्न लागिएको समितिले जनाएको छ ।

koti home1

महायज्ञमा राधिका दासी र पण्डित दिनबन्धु पोखरेलले कथावाचन गर्नेछन् भने भारत बागेश्वरधामबाट बागेश्वर बाबालाई पनि ल्याउन पहिल गरिने अध्यक्ष कटवालले जानकारी दिए । कोटीहोमबाट खर्च खटाएर बचेको रकमले बुढीगंगामा धार्मिक तथा पर्यटकीय आकर्षक बन्ने गरि मुक्तिघाट बनाउने लक्ष्य आयोजकको रहेको छ ।

उक्त स्थानमा विभिन्न देवताहरु गणेश, शिव, शनि, हनुमान, वैष्णेदेवीका शक्तिपीठहरु, चैत्य गुम्बा, १०८ गौमुखी जलधारा तथा १०८ फिट अग्लो त्रिशुल स्थापना गर्ने लक्ष्य रहेको पनि आयोजकले जनाएको छ । यस्तै,यज्ञशाला, समावेशी गुरुकुल, पाठशाला, पाकशाला, गौशाला तथा असहाय बाल–वृद्धका लागि आवासको व्यवस्था गर्ने पनि अध्यक्ष कटवालले जानकारी दिए । 

पत्रकार सम्मेलनमा चन्द्र नेपालले २२ वटा हवन कुण्ड रहने पनि जानकारी दिए । उनका अनुसार पञ्चायन देवताका ५ कुण्ड, ९ वटा ग्रहको ९ वटा कुण्ड, सप्तर्षिकको ९ वटा हवन कुण्ड र एउटा पितृको मुलकुण्ड रहनेछ । यी २२ वटा कुण्डमा चरु होम गर्दा आफना विभिन्न समस्याहरु नष्ट हुने, चरु हवनमा पाकिने इटा अतिशक्तिशाली हुनाले घरमा राख्दा वास्तुदोष निवारण हुने पनि नेपालले बताए । 

अश्वमेघ महायज्ञ गर्न संकल्पकर्ता माता सञ्जना तिम्सिनालाई अदृष्य शक्तिले प्रेरणा दिएको पनि उनले खुलाए । कुशको अश्वमेघ प्रतिकात्मक बनाएर माता अञ्जनाले विभिन्न जिल्ला भ्रमण गराएको पनि उनले जानकारी दिए । महायज्ञस्थल बुढीगंगा रुद्राक्षरण्य क्षेत्र भएकोले प्राचिन धार्मिक क्षेत्रकोरुपमा महत्वपुर्ण स्थान भएको पनि उनले बताए । 

आयोजकका अनुसार, यो नदी शिवजट्टाबाट उत्पत्ति भएकी देवी वृद्धगंगाको रूपमा चिनिन्छिन् । संकल्पकर्ता माता सन्जनाका अनुसार वृद्धगंगाको जलले सम्पूर्ण भौतिक दुःख, कष्ट तथा पाप नाश गरी मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ । ‘कलियुगको पहिलोपटक यस्तो विशाल कोटीहोम नेपालमा हुन गइरहेको छ,’ माता सन्जनाले भनिन्, ‘यो केवल कुनै यज्ञ होइन, यो सम्पूर्ण मानव जातिको पितृ उद्धार तथा आध्यात्मिक शुद्धिकरणका निम्ति आयोजित गरिएको ऐतिहासिक अनुष्ठान हो ।’

ramesh basnet

उनका अनुसार, लाखौं श्रद्धालु भक्तगण, धर्मगुरु, साधुसन्त, ऋषिमुनिहरू र अध्यात्मिक पथप्रदर्शकहरूको समुपस्थितिमा यज्ञ सम्पन्न हुनेछ । ‘हामी सम्पूर्ण विश्व समुदायलाई आव्हान गर्छौं कि, एक युगमा एकपल्ट मात्र हुने यो पुण्य कार्यमा सहभागी भई विश्व शान्ति र कल्याणको लागि एक भइ अघि बढौँ,’ उनले भनिन् ।

महायज्ञ अवधिभर विविध धार्मिक क्रियाकलाप, पुराण वाचन, हवन, साधना, प्रवचन, आरती, कीर्तन र सांस्कृतिक कार्यक्रमहरू पनि सञ्चालन हुनेछन् । बालक, वृद्ध, महिला र युवा सबैलाई लक्षित गरी भक्तिभाव र चेतनाको समन्वयमा कार्यक्रम अगाडि बढाइने अध्यक्ष कुटवालले जानकारी दिए । 

ऐतिहासिक महत्वको यस महायज्ञलाई भव्य र सफल बनाउन आयोजक समितिले देशभरका श्रद्धालु, धार्मिक संस्था, सामाजिक अभियन्ता, जनप्रतिनिधि तथा शुभेच्छुकहरूमाझ सहयोग र सहभागिताको आह्वान गरेको छ । आयोजकका अनुसार, यज्ञ स्थलको पूर्वाधार निर्माणका लागि स्वयंसेवक परिचालन, आर्थिक सहयोग तथा श्रमदान पनि भैरहेको छ ।

‘हामीले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र अध्यात्मिक एकता कायम गर्दै महायज्ञ सफल पार्न जुटेका छौं,’ आयोजक समितिका अध्यक्ष कटुवालले भने, ‘यो हाम्रो मात्र नभइ सम्पूर्ण नेपालीको गौरव र पुण्यको अवसर हो ।’ पत्रकार सम्मेलनमा प्रमुख अतिथि एवं कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प्रदेश सरकारले पर्यटन बर्ष २०८२ मनाइरहदा यो धार्मिक कार्यक्रमले पनि धार्मिक पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने बताए ।

भिडियो: