धरान: गत जेठ १६ गते राती बर्षासँगै सेहरा खोलामा आएको बाढीले धरान वडा नं ६ पानवारीतर्फ कटान गरेर धेरै खेतबारी बगाएको थियो भने बाँध भत्काएर बाढी सुचना बस्तीतिर पसेको थियो । 

उक्त बाढीले क्षति पुर्याएको २ महिना बित्न लाग्दा पनि स्थानीय सरकारले थप क्षति हुन नदिन आवश्यक केही कदम नचालेपछि पानवारीबासीहरु आफै कस्सिएका छन् । पानवारी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भुपाल राईको पहलमा प्रदेश सांसदद्धय ममता योञ्जनमार्फत ४५ थान र रमेश बस्नेतमार्फत थप २० थान जाली उपलब्ध भएपछि पानवारीबासीहरु श्रमदान गरिरहेका छन् । उनीहरुले साउन ६ गते पहिलो श्रमदान गरेका थिए भने आज (शुक्रबार) दोस्रो पटक वृहत श्रमदान गरेर तारजाली लगाएका छन् ।

श्रमदानमा जनप्रतिनिधिहरु पनि सहभागी भएका छन् । पहिलो पटक भएको श्रमदानमा प्रदेश सांसद बस्नेत पनि सहभागी थिए भने वडाअध्यक्ष भुपेन्द्र भट्टराई पनि सहभागी भएका थिए । तारजाली ल्याउन पहल गरेका वन समुहका अध्यक्ष राईका अनुसार जेठ १६ को बाढीले खेतबारी मात्र कटान गरेको छैन, तत्काल रोकथाम नगर्ने हो भने सेहरा खोलाले निरन्तर पुर्वतर्फ कटान गरेर ग्यास प्लान्ट, मालपोत र नापी कार्यालय, सुचना बस्ती हुदै सिंगो सितल चोक बस्ती नै डुबान पर्ने भएकोले वडाबासी सबै श्रमदानमा जुटेको हो । 

bhupal rai

‘हुन त १६ गते राती बाढी आएपछि १७ गते बिहान मेयर साब डोजर लिएर च्यानलिङ गर्न आउनु भएको थियो, तर त्यसपछि ब्यस्त भएर हो कि के हो, यता ध्यान दिनुभएको छैन,’ राईले भने, ‘अरुतिर उहाँ तत्काल तारजाली लिएर श्रमदान गर्न पुगिरहनुभएको छ, तर हाम्रो वडा ६ मा त्यसरी आउनुभएको छैन । यहाँ पनि उहाँले श्रमदान गरोस् भन्ने चाहन्छौं ।’

शुक्रबार भने उपमेयर अइन्द्रबिक्रम बेघाले नगरको डोजर पठाइदिएको पनि अध्यक्ष राईले बताए । यस्तै, वडाअध्यक्ष भट्टराईले व्यक्तिगतरुपमा नै श्रमदाताहरुलाई खाना खुवाइदिएको र ढुंगा संकलन गर्न प्रयोग भएको ट्याक्टरलाई तेल खर्च उपलब्ध गराएर सहयोग गरेको वन समितिका अध्यक्ष राईले जानकारी दिए । ‘यो तत्कालको लागि रोकथाम मात्र गरेका हौं, जनप्रतिनिधिहरुले हाम्रो समस्याको दीर्घकालिन समाधान खोजिदिनुपर्छ,’उनले भने ।

sehara shram

वडा ६ स्थित सुन्दर टोल विकास संस्थाका अध्यक्ष टंकबहादुर थापाले आफुहरु माउ विनाको चल्ला झैं भएको बताए । हरेक बर्ष बाढीको त्रासमा बस्नुपर्ने र कटान भएपछि वडा, नगरमा जालीको मात्र माग गर्दा पनि सुनुवाई नभएको थापाको भनाई छ । 'हामी हरेक बर्ष त्रसित छौं, तारजाली उपलब्ध गराउन भन्दा पनि वडाबाट, नगरबाट सुनुवाई भएन, हामीले पाएनौं,' थापाले भने, 'सबैतिर गुहार गर्दा पनि कतैबाट जाली पनि नपाएपछि वानपारी वन समुहका अध्यक्षको पहलमा बल्ल सांसदहरुबाट पायौं ।' 

उनले नगर प्रमुखले आफुहरुको दुःखबारे जानकार रहेको भन्दै विपतको बजेट छुट्याएर श्रमदानको टिमसहित आएमा आफुहरुले पनि एकजुट भएर साथ दिने बताए । 'मेयर साबले श्रमदानको टिम लिएर आउनु भयो भने हामी पनि एकजुट भएर साथ दिन्छौं, यो काम सम्पन्न गरिदिनुहुनेछ भन्ने आशा गरेका छौं,' थापाले भने । 

भिडियो: