धरान: चर्चित गायक भिषण मुकारुङको धरानमा एकल सांगीतिक साँझ भाग २ आयोजना हुने भएको छ । 

भोजपुर सुनसरी सेवा समाजले मंगलबार धरान १८ स्थित वडा कार्यालयको हलमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २८ गते शनिबार भिषण मुकारुङ एकल सांगीति साँझ २०८२ आयोजना गर्ने जानकारी दिएको हो । उक्त कार्यक्रम धरान १५ स्थित चुम्लुङ हिममा हुने पनि समाजका अध्यक्ष रेवतीरमण राईले जानकारी दिए । 

अध्यक्ष राईका अनुसार सुविधायुक्त कार्यक्रम हलसहितको कार्यालय भवन बनाउन आर्थिक संकलन जुटाउने उद्देश्यले सांगीतिक साँझ गर्ने निर्णय भएको हो । उक्त कार्यक्रमले कला क्षेत्रलाई प्रोत्साहन गर्ने पनि उनले बताए । संस्थाले सांगीतिक साँझको लागि ५ हजार, २ हजार, १ हजार र ५ सय दरका गरि कुल ७८ लाख बराबरको टिकट छापेको पनि अध्यक्ष राईले जानकारी दिए । ‘कम्तीमा ५० लाख उठाउने योजना छ, कार्यक्रमको खर्च नै १०/१२ लाख हुने देखिन्छ,’ उनले भने ।

bhisan

जन्मथलो भोजपुर जिल्ला भएपनि सुनसरीमा कर्मथलो रहेका र यतै बसोबास गरिरहेकाहरुले २०७० साथमा समाजको स्थापना गरेका थिए । समाजमा हाल एक हजार आजिवन सदस्य रहेका छन् । समाजले भोजपुरे र भोजपुरबाट सुनसरी आइ बसोबास गर्नेहरुलाई एकत्रित गरेर विभिन्न क्षेत्रमा सहयोगी संस्थाकोरुपमा भुमिका खेलिरहेको छ । 

सांगीतिक क्षेत्रमा अढाई दशक बिताइसकेका गायक मुकारुङको यो दोस्रो एकल साँझ हुन लागेको हो । यसअघि २०७९ मा काठमाण्डौंमा उनको पहिलो एकल सांगीतिक साँझ आयोजना भएको थियो । 

bhisan mukarung1

पत्रकार सम्मेलनमा उपस्थित गायक मुकारुङले सांगीतिक साँझमा आफु पुर्णरुपमा २ दशकको सांगीतिक क्षेत्रको अनुभूतिहरुलाई पस्किने बताए । उनले भने, ‘यो सांगीतिक साँझले मेरो २५ औं बसन्तसम्म मैले गीत, संगीतको माध्यमबाट के के भन्न सके, एकमुष्ट प्याकेजमा बोल्नेछु, छर्लङ्गरुपमा प्रस्तुत हुनेछ ।’

कार्यक्रममा अग्रज गायकहरुको र आफ्नो गीत प्रस्तुत गर्ने पनि गायक मुकारुङले जानकारी दिए । आफ्नो गीतमा मनोरञ्जन मात्र नभै समाज, देशसँग जोडिनुपर्छ भन्ने महशुस गर्ने उनले बताए । गायक राईको खोर्सानी डल्ले, ए सिम्मालगायत चर्चित गीतहरु छन् ।