धरान: बिषाद परीक्षणमा खान अयोग्य नजिता आएपछि कृषि उपज बजारस्थलमा १९ किलो रायोको साग नष्ट गरिएको छ । 

परीक्षण गरिएका विभिन्न १० वटा तरकारीका नमुनाहरुमध्ये डाँडाबजारबाट आएको रायोको सागमा खान अयोग्य हुने गरि बिषादी भेटिएको कृषि उपज बजारस्थित बिषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइले जनाएको छ । उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार परीक्षणमा उपयोग अयोग्य भनेर नतिजा आएपछि रायोको सागलाई गाडेर नष्ट गरिएको छ । 

एकाइका प्रमुख रुपेश रिजालका अनुसार परीक्षणबाट रायोको सागमा अर्गानोफस्फेट समुहको बिषादी अत्यधिक प्रयोग भएको देखिएको छ । परीक्षणको क्रममा डाँडाबजारबाट आएको सागमा ६१.९१४१ प्रतिशत अर्गानोफस्फेट देखिएको उनले बताए । तरकारी परीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम आएमात्र खान योग्य हुन्छ भने ३५ देखि ४५ प्रतिशत देखिए केही दिनसम्म राख्ने (क्वारेन्टाइन) र मात्र उपभोग गर्न मिल्ने पनि रिजालले बताए ।

sag2 copy

बिषादी परीक्षण कृषि बजारमा मात्र केन्द्रीत भएको भन्दै व्यापारीहरु भने असन्तुष्ट बनेका छन् । पहाड र तराईबाट आउने तरकारीहरु धरान १३ स्थित कृषि थोक बजारमा इन्ट्री नगरी नै अन्य खुद्रा तरकारी बजारमा पुगिरहेको र त्यहाँ परीक्षण नभएका तरकारीहरु बिक्री भइरहेको कृषि थोक बजारस्थल सञ्चालक समितिका अध्यक्ष काजी गिरीले बताए । ‘बिषादी परीक्षण हुनु राम्रो हो, तर यहाँ कृषि बजारमा मात्र केन्द्रीत भयो,’ उनले भने,‘धरानकै अरु बजारमा परीक्षण नगरिएको तरकारी बिक्री हुन्छ, त्यता ध्यान खै ?’

बिषादी कृषकले प्रयोग गर्ने गरेको तर व्यापार गर्न बसेको व्यापारीको पैसा डुबिरहेको भन्दै व्यापारीहरुले किसानलाई समेत जिम्मेवार बनाउने गरि सम्बन्धित निकाय लाग्नुपर्ने बताएका छन् । कृषि बजारमा मात्र परीक्षण हुने गरेपछि पहाडबाट तरकारी कृषि बजारमा नल्याई सिधै खुद्रा तरकारी बजारमा जाने गरेको छ । यसले कृषि बजारको थोक व्यापारमा कमी आइरहेको पनि व्यापारीहरुले बताए ।

sag1 copy  

केही समयअघि धरानका सबै नाकाबाट आउने कृषिजन्य वस्तु कृषि थोक बजारमा इन्ट्री भएर परीक्षण पश्चात मात्र बाहिरिने निर्णय गरिएपनि कार्यान्वयन नभएको अध्यक्ष गिरीले बताए । धरानका उपमेयर एवं एकाइका संयोजकसमेत रहेका अइन्द्रबिक्रम बेघाले व्यापारीहरुको गुनासो जाजय भएको र स्रोतसाधनले भ्याएसम्म जिम्मेवारी पुरा गरिरहेको बताए । ‘यहाँमात्र चेकगरेर अन्याय भयो भन्ने गुनासो जायज छ, तर हाम्रो संयन्त्रले भ्याएसम्म लागिरहेका छौं,’उनले भने,‘यहाँबाहिर पनि नगर प्रहरी खटाएर भ्याएसम्म चेक गर्ने काम गरिरहेका छौं ।’ 

कृषि उपजमा परीक्षण हुन थालेपछि तरकारी भगाएर लैजाने गरेको भन्दै उपमेयर बेघाले भने,‘त्यसो नगर्न आग्रह पनि गर्छु । भेटियो भने कारबाही गर्नुपर्ने हुन्छ । पहाड जाने र मधेश झर्ने सबैलाई परीक्षण गर्ने भनेर सम्बन्धित निकायमा स्रोतसाधन जुटाउन लागिपरेका छौं । क्रमशः व्यवस्थित हुदैजानेछ, हाम्रो जिम्मेवारी पुरा गर्न अधिकतम प्रयत्नरत छौं ।’

भिडियो: