धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ४७ औं सिनेट बैठक भदौं अन्तिम साता बस्ने भएको छ । 

प्रतिष्ठानका सहकुलपति एवं स्वास्थ्यमन्त्री प्रदिप पौडेलको निर्देशन वमोजिम विपी प्रतिष्ठानका नवनियुक्त उपकुलपति प्रा.डा. बिक्रमप्रसाद श्रेष्ठले सञ्चालक परिषद (सिनेट बैठक) को तयारी गरेका हुन् । उपकुलति प्रा.डा.श्रेष्ठका अनुसार बैठक भदौ २७ गते संघीय राजधानी काठमाण्डौंमा हुनेछ । 

सिनेट बैठक सहकुलपतिको अध्यक्षतामा हुन्छ । स्वास्थ्यमन्त्री प्रतिष्ठानको सहकुलपति रहने कानुनी व्यवस्था छ । उपकुलपति सिनेटको सदस्य सचिव हुने र सहकुलपतिको निर्देशनमा उपकुलतिले बैठक आह्वान गर्नुपर्ने हुन्छ । ‘सहकुलपतिबाट नै निर्देशन भएकोले सिनेट बैठकको तयारीमा जुटेका छौं । सिनेटको मुख्य फोकस हाम्रो बजेट पास गर्ने हो,’ हाल काठमाण्डौंमा रहेका उपकुलपति प्रा.डा.श्रेष्ठले मोवाइल सम्पर्कमा भने ।

पुरानो अस्पतालको जग्गाबारे के होला ?

स्वास्थ्य वीमा सेवाको प्रथम विन्दु विपी प्रतिष्ठान नरहने भएपछि अहिले धरानमा सबैको ध्यान आधारभुत स्वास्थ्य केन्द्र वा नगर अस्पताल सञ्चालन गर्नेमा केन्द्रीत छ । यसकोलागि धरान १ छाताचोकस्थित पुरानो अस्पतालको जग्गा विपी प्रतिष्ठानबाट फिर्ता गराउनुपर्ने र त्यही नगर अस्पताल निर्माण गरेर सञ्चालन गर्नुपर्ने आवाज उठिरहेको छ । 

धरान अस्पतालको नाममा रहेको उक्त जग्गा नेपाल सरकारले विपी प्रतिष्ठानको स्वामित्वमा दिएर पुर्जासमेत पाइसकेको अवस्था छ । अब उक्त जग्गा फिर्ता गर्न पुनः मन्त्रीपरिषदबाट निर्णय हुनुपर्ने हुन्छ । 

नगर सरकार, यहाँका राजनीतिक दल र नागरिक समाजलेसमेत उक्त जग्गा फिर्ताको माग गरिरहदा विपी प्रतिष्ठानको बस्न लागेको सिनेट बैठकले यो बिषयमा केही निर्णय गर्ला ? यो जिज्ञासामा प्रतिष्ठानका उपकुलपति प्रा.डा.श्रेष्ठले भने,‘जग्गा दिने अधिकार हामीलाई छैन, अधिकार नभएपछि जति कम बोल्यो, त्यति राम्रो हुन्छ होला । यदि सरकारले निर्णय गरेर जग्गा फिर्ता गर भन्छ भने पनि त्यसमा हामीले बोल्ने कुरा भएन ।’

प्रथम सेवा विन्दुबारे यस्तो छ विकल्प

स्वास्थ्य वीमा बोर्डले असोज असान्तसम्म मात्र विपी प्रतिष्ठानलाई प्रथम सेवा विन्दु तोकेको अवस्थामा छ । त्यसपछि विपीमा निरन्तरता हुने कि नहुने भन्ने अन्योलता छ । वीमा बोर्डले अघिल्लो निर्णयलाई निरन्तरता नदिने संकत प्रतिष्ठानले पाइसकेको छ । 

वीमा बोर्डले प्रतिष्ठानलाई प्रथम विन्दुको म्याद नथपेमा तत्काल धरान उपमहानगरपालिकाको वडामा भएको स्वास्थ्य चौकीमध्ये पायक पर्ने ठाउँलाई प्रथम विन्दु तोकेर वीमा सेवालाई निरन्तरता दिन सकिने उपकुलपति प्रा.डा.श्रेष्ठ बताउँछन् ।

‘अर्को व्यवस्था नभएसम्म पुर्वाधार, सुविधाहरु थपेर प्रथम सेवा विन्दु सञ्चालन गर्न सकिन्छ,’ उपकुलपति प्रा.डा.श्रेष्ठले भने,‘अर्काे विकल्पमा जबसम्म नगर अस्पताल बन्दैन, तबसम्म घर भाडामा लिएर प्रथम विन्दु बनाउन सकिन्छ । यी विकल्पहरुबारे म धरान फर्केपछि नगरप्रमुख, राजनीतिक दलहरुसँग पनि कुरा गर्ने सोचेको छुँ ।’

डा.श्रेष्ठले वादविवादमा अल्झेर नगर अस्पताल बनाउन ढिलाई गर्न नहुने पनि बताए । धराने जनता, स्थानीय सरकार, प्रदेश र केन्द्र सरकार मिलेर चाडो अस्पताल बनाउन सकिने पनि उपकुलपति डा.श्रेष्ठको भनाई छ । 

‘विपीको जग्गामा बन्छ भने विपी आफैले चलाउछ, तर नगरले आफ्नै जग्गामा बनाउदा नगरले चलाउने हो, त्यसमा हामी जनशक्ति दिन्छौं नै,’ उनले भने,‘नगर अस्पताल अबिलम्ब बन्नुपर्छ । त्यसमा हाम्रो पनि स्वार्थ के छ भने केही विरामीहरु बाहिर नै हेर्न सक्यौं भने विपीमा भिडभाड कम हुन्छ, र हामी खास विरामीको उपचारमा फोकस् हुन पाउछौं ।’