धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला ट्राफिक कार्यालयको भवन बनाउन धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा विकास आयोजनाको २ कट्ठा जग्गा दिने निर्णय गरेको छ ।
हिजो (आइतबार) बसेको बैठकले आयोजनास्थलमा राखिएको ओपन स्पेसमध्येको २ कट्ठा जग्गा ट्राफिक कार्यालयलाई भवन निर्माणको लागि दिने निर्णय गरेको हो । हाल जिल्ला ट्राफिक कार्यालय वडा नं ८ मा भाडाको घरमा सञ्चालन हुदै आएको छ । भवन अभावले धेरै समस्या भोग्नु परेपछि जिल्ला ट्राफिकलाई धरानबाट इनरुवा सार्ने चलखेल पनि भइरहेको थियो ।
नयाँ बसपार्क क्षेत्रमा ट्राफिक कार्यालय बस्दा बसपार्क सञ्चालन गर्दा ट्राफिक व्यवस्थापनमा पनि सहयोग पुग्ने भएको भन्दै कार्यपालिका बैठकमा विविधमा एजेण्डा पेश भएको थियो । उक्त एजेण्डालाई कार्यपालिकाले सर्वसम्मतरुपमा पारित गरेको हो ।
बराह सहकारी समस्याग्रस्त घोषणा
बराह वचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गर्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ । सहकारी पीडितहरुबाट पटक पटक अनुरोध गरिएपछि सहकारी ऐन २०७५ को दफा ७७ अनुसार बराह सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय कार्यपालिकाले गरेको हो ।
यसअघि पनि २ पटक यो प्रस्ताव कार्यपालिकामा लगिएपनि अनुमोदन भएको थिएन । बराह सहकारी र बराह ग्रुप अफ कम्पनीमा १४ अर्ब भन्दा बढी पैसा सर्वसाधारण नागरिकको डुबेको छ । बराहका सञ्चालक र उच्चतहका कर्मचारीहरुलाई ठगी, संगठित अपराधमा मुद्दा दायर भएको छ । मुख्य सञ्चालकहरु भने फरार छन् ।
पुरानो अस्पतालको जग्गा फिर्ता गरेर नगर अस्पताल बनाउने
कार्यपालिका बैठकले धरान १ स्थित पुरानो अस्पतालको जग्गा विपी प्रतिष्ठानबाट फिर्ता गरेर नगर अस्पताल स्थापना गर्ने एजेण्डा पनि पारित भएको छ । नगर अस्पताल स्थापना नभएसम्म विपी अस्पतालमा नै प्रथम सेवा केन्द्र कायम गराउन आवश्यक समन्वय गर्ने पनि निर्णय भएको छ ।