धरान: धरान उपमहानगरपालिका नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले जेन जी आन्दोलनको क्रममा धरानमा तोडफोड, लुटपाट र आगजनी भइरहदा मेयर हर्कराज राई (साम्पाङ) भने प्रधानमन्त्री हुन काठमाण्डौं गएको र नगरबासी अभिभावकविहिन हुनुपरेको बताए ।
जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे बिहिबार कार्यपालिका बैठकमा बोल्दै अध्यक्ष भट्टराईले धरान जलिरहदा मेयर साम्पाङ भने पदलोलुप बनेर काठमाण्डौं गएको र नगरबासी सुरक्षा नपाएर आतंकित हुनुपरेको बताए । ‘धरान दनदनी जलिरहेको बेला, नागरिकले सुरक्षा खोजिरहेको बेला, पुलिस चौघेराभित्र भएको बेला, दिनदहाडै लुटपाट र ताण्डव मच्चिरहेको बेला अभिावकविहिन थियो धरान,’ उनले भने,‘चार दिन बर्षा भयो, न नगरको बजेट पास भएको थियो, न अभिभावक थियो, जताततै डुबान थियो । केही गर्न सकिने अवस्था थिएन । पिउने पानीको चरम अभाव थियो, तर धराने जनताको म्याण्डेडलाई बिर्सेर नगर प्रमुख काठमाण्डौं जानुभयो ।’
मेयर साम्पाङले कार्यवाहक दिएर वा कार्यकारीलाई निर्देशन दिएर गएको भए पनि समस्या समाधान गर्न केही पहल हुनसक्ने वडाअध्यक्ष भट्टराईले बताए । तर, मेयर साम्पाङले कसैलाई केही नभनि गएको र काठमाण्डौंबाट पनि धरानको अवस्थाबारे कसैसँग समन्वय, सम्पर्क नभएको अध्यक्ष भटट्राईले बताए । ‘उहाँले मुलुकुको चिन्ता गरेर गएको भन्नुहन्छ, तर हाम्रो लागि भने उहाँ पदलोलुप भएर जानुभयो, धराने जनताले दिएको म्याण्डेड बिर्सेर जानुभयो,’ उनले भने ।
मेयरकै नजिकका व्यक्तिहरुले विध्वंश मच्चाएको आरोप
धरानमा मेयर साम्पाङकै नजिकका व्यक्तिहरुले तोडफोड, लुटपाट र आगजनी गरेको प्रमाणहरु भेटिएको पनि वडाअध्यक्ष भट्टराईले बताए । स्वतन्त्र नागरिक समाजका मिलन वान्तवाको नेतृत्वमा तोडफोड, आगजनी र लुटपाट भएको, ज्ञान चाम्लिङ पनि सबै ठाउँमा पुगेको र मीना सिंगकले फेसबुक पोष्टमार्फत उक्साएको प्रमाणहरु रहेको र ती प्रमाणहरु प्रहरीमा बुझाएको पनि उनले बताए ।
जेन जी आन्दोलन समापन भइसकेपछि तोडफोड, आगजनी र लुटपाट भएको खुलाउदै उनले लुटपाट गर्ने उद्देश्यले नै उक्त समुह घर घर पुगेको पनि बताए । ‘लुटपाट गर्ने नै उद्देश्य देखिन्छ । घरमा सिधै सेफ, दराज खोजिएको छ, हातबाट पैसा खोसिएको छ,’ उनले भने, ‘जति घरमा तोडफोड भयो, आक्रमण भयो, उनीहरुको अपराध के थियो ? फरक विचार राखेको आधारमा छानी छानी प्रहार भएको छ।’
मेरो घर पनि तोडफोड गर्न आउदैछ भन्ने सुनेपछि भागे: मेयर साम्पाङ
मेयर साम्पाङले भने भदौ २४ गते आफ्नै घर पनि तोडफोड गर्न आउदैछ भन्ने सुचना आएर आफु भाग्नुपरेको बताए । यद्यपी, उक्त घर आफ्नो नभएको र त्यही थाह पाएर तोडफोड नगरेको हुनसक्ने उनले बताए ।
सरकारले सामाजिक सञ्जाल बन्द गराउने निर्णय विरुद्ध जेन जी आन्दोलनभन्दा अघि नै मंगलबार दिउँसो १ बजे विरोध प्रर्दशनमा आउने घोषणा गरिसकेको मेयर साम्पाङले बताए । सोही वमोजिम मंगलबार जेनजी आन्दोलनमा सहभागी भएको उनले बताए ।
शान्तिपुर्ण कार्यक्रम सकिएपछि पार्टी कार्यालय तोडफोड, व्यक्तिको घर तोडफोड भएकोमा आफु पनि अचम्मित भएको बताए । ‘मेरो मान्छे, तेरो मान्छे भन्ने कुरा छैन, दोष र गुणको आधारमा हुन्छ,’ उनले भने, ‘मेरो साथमा श्रम गर्ने मान्छेहरु उक्त घटनामा संलग्न भएको प्रमाण भए कानुनी कारबाही गर्नुपर्छ ।’
भिडियो: