धरान: २० औं ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन शुक्रबार आज तीन खेलहरु सम्पन्न भएको छ।
डिपो मावि धरान १८ ले आयोजना गरेको प्रतियोगिताको आजको पहिलो खेल नोबेल एकाडेमी धरान ११ र एप्पल मन्टेश्वरी धरान ११ बीच भएको थियो । सो खेलमा नोबेल एकाडेमीले एप्पल मन्टेश्वरीलाई ८-० को फराकिलो गोल अन्तरले हरायो ।
खेलमा नोबेल एकाडेमीको तर्फबाट जर्सी ७ का सोहन राईले ह्याट्रिक गरेका थिए । यसैगरी जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले समान १/१ गोल गरेका थिए । एप्पल मन्टेश्वरीकोतर्फबाट १ गोल आत्मघाती भएको थियो ।
सबै गोल पहिलो हाफको खेलमा भएको थियो । खेलमा म्यान अफ द म्याच नोबेल एकाडेमीका खेलाडी सोहन राई भएका थिए । उनलाई नेपाल पत्रकार महासङ्घ सुनसरीका निवर्तमान अध्यक्ष जनकऋषि राईले पुरस्कृत गरेका थिए ।
यसैगरि, दास्रो खेलमा आइडल इङ्लिस बोर्डिङ स्कुल, धरान–१४ विजयी भएको छ । आइडलले खेलमा समिट सेकेण्डरी बोर्डिङ स्कुल, धरान–९ लाई ९-० को विशाल गोलअन्तरले पराजित गरेको थियो ।
आइडलको तर्फबाट जर्सि ७ का सौरभ राई र जर्सी १० का रिकेश खत्रीले ह्याट्रिक गरे भने जर्सी ९ का सुजल भट्टराईले २ गोल र सिर्जल गिरिले १ गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच आइडलका जर्सी १० रिकेश खत्री भएका थिए । उनलाई सिद्घार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरेका थिए ।
यस्तै, तेस्रो खेलमा सिद्घार्थ शिशु सदन, धरान–१६ लाई कारमेल हाई स्कुल धरान–१८ ले ४–० गोल अन्तरले हरायो । खेलमा कारमेलका जर्सी १९ का युवराज राजवीर यादवले ह्याट्रिक गरे भने जर्सी १० का सुनेश लिम्बूले १ गोल गरेका थिए ।
खेलमा म्यान अफ द म्याच कारमेलका युवराज राजवीर यादव भएका थिए । उनलाई सिद्घार्थ शिशु सदनका शिक्षक प्रदीप सुवेदीले पुरस्कृत गरेका थिए ।
भोलि शनिबारको पहिलो खेल हिमशिखर सेकेण्डरी स्कुल,इटहरी र नेपाल प्रहरी स्कुल धरान–१३ बीच हुनेछ । यसैगरि दोस्रो खेल लिगामेन्ट इङ्लिस बोर्डिङ स्कुल धरान –१६ र माउण्ट हर्मन एकाडेमी धरान–१८ बीच हुनेछ ।
तेस्रो खेल प्रभात इङ्लिस बोर्डिङ स्कुल धरान–१२ र इम्मानुयल इङ्लिस बोर्डिङ स्कुल धरान–१७ बीच हुनेछ भने चौथो खेल युनाइटेड गोर्खा एकाडेमी धरान–१५ र धरान इङ्लिस बोर्डिङ स्कुल धरान–५ बीच हुनेछ ।







