धरान:'सातौँ कोशी प्रदेश अन्तर विद्यालय डिआईजिपी रनिङ फुटबल टुर्नामेण्ट'मा सिद्धार्थ बोर्डिङ स्कुल मोरङ र माउन्ट हर्मन एकेडमी धरान विजयी भएको छ।
नेपाल पुलिस स्कुलको आयोजनामा नेपाल प्रहरी प्रदेश कार्यालय धरान १३ को खेल मैदानमा शनिबार भएको पहिलो खेलमा सुन्दरहरैचास्थित सिद्धार्थ स्कुल विजयी भएको हो । सिद्धार्थले आदर्श इङ्लिस स्कुल कानेपोखरी मोरङलाई १-० झिनो गोल अन्तरले पराजित गरेको थियो ।
सिद्धार्थको जितमा जर्सी नं.१६ का निपेश तामाङले दोस्रो हाफको २७ औं मिनेटमा गरेको गोल नै निर्णायक भयो । उक्त खेलमा सिद्धार्थ सेकेण्डरी स्कुलका जर्सी नम्बर जर्सी नं. ११ का जेम्स देवान (कप्तान) म्यान अफ द म्याच घोषित भए ।
यस्तै, दोस्रो खेलमा माउण्ट हर्मन एकेडेमीले सफल सिद्धार्थ एकेडेमी सुन्दरहरैँचा मोरङलाई २-० गोल अन्तरले पराजित गरेको हो । माउन्ट हर्मनको जितमा जर्सी १५ का प्रिन्स बिष्ट नायक बने । दुवै गोल प्रिन्सले गरेका थिए । उनले दोस्रो हाफको १२ र इन्जुरीमा गोल गर्फै माउन्ट हर्मनलाई जित दिलाए ।
माउण्ट हर्मन एकेडेमीको तर्फबाट जर्सी नम्बर १५ का प्रिन्स बिष्ट म्यान अफ द म्याच घोषिय भए । उत्कृष्ट खेलाडीहरुलाई प्रमुख अतिथि एवं सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष नविन राईले नगद एक हजार पाँच र मेडल प्रदान गर्नुभएको थियो ।
त्यसैगरी प्रतियोगितामा सहभागी विद्यालयहरु आदर्श इङ्लिस स्कुल र सफल सिद्धार्थ एकेडेमी मोरङलाई नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल र अतिथि धरान फुटबल कल्बका अध्यक्ष प्रताप तामाङले सहभागिताको प्रमाण पत्र प्रदान गरेका थिए ।
प्रतियोगितामा आइतबार पहिलो खेल ज्ञानोदय मा.वि. धरान र पिनाकल ज्ञान मन्दिर मोरङबीच दिउँसो १ बजे हुनेछ भने दोस्रो खेल डिपोट स्कुल धरान र नेपाल पुलिस स्कुल धरान (निलो) बीच दिउँसो २ बजे हुने आयोजकले जानकारी दिएको छ ।
वाल्मिकी स्कुललाई कारवाही, निधि स्कुल विजेता घोषित
प्रतियोगितामा पुष १० गतेको खेलमा विजेता भएको वाल्मीकि मेमोरियल सेकेण्डरी स्कुल, मोरङलाई कारवाही भएको छ ।
प्रतियोगिताको नियम विपरित स्कुल बाहिरबाट खेलाडी प्रवेश गराई प्रतियोगितामा सहभागी भएको प्रमाणित भएपछी वाल्मीकिलाई कारवाही गरिएको आयोजकले जनाएको छ । कारबाही स्वरुप वाल्मीकि आगामी खेलबाट बन्चित हुनेछ ।
पुष १० गतेको खेलमा वाल्मीकिसङ्ग पराजित निधि सेकेण्डरी स्कुल विर्तामोड, झापालाई उक्त खेलको विजेता घोषणा गरिएको आयोजकले जानकारी दिएको छ । पुष १० गते बाल्मिकीले निधी स्कुल, विर्तामोडलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।







