धरान: दुई दिने चिभास रिगल इष्टर्न गल्फ टुर्नामेन्ट धरान १८ स्थित धरान गल्फ कोर्षमा शुरु भएको छ । 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रको कोर्षमा शुरु भएको प्रतियोगितामा अहिलेसम्मकै धेरै एमेच्योर गल्फरहरु सहभागी छन् । आयोजक कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत घिसिङका अनुसार दुई दिने प्रतियोगितामा १२८ जना खेलाडीहरु सहभागी हुदैछन् । ‘यो धरान गल्फ कोर्षमा भएको कुनै पनि प्रतियोगितामा अहिलेसम्मकै धेरै सहभागी संख्या हो,’ उनले भने,‘यो रेकर्ड सायदै अन्य प्रतियोगिताले तोड्न सक्छ ।’ यसअघि बाह्रखरी गल्फ प्रतियोगितामा ९५ जना खेलाडीहरु सहभागी भएको रेकर्ड थियो । 

खेलाडीहरु धेरै सहभागी भएपछि २ प्रतियोगितालाई २ दिनको गर्नुपरेको आयोजक संघका उपाध्यक्ष घिसिङले बताए । पहिलो दिन (शुक्रबार) ५६ जना खेलाडीहरु सहभागी भएका थिए भने दोस्रो दिन ७२ जना खेलाडीहरु सहभागी हुनेछन् । प्रतियोगितामा धरान, काठमाण्डौं र पोखराबाट खेलाडीहरु सहभागी छन् ।

पार ७० को गल्फ कोर्षमा स्टेवल फोर्डको आधारमा आयोजित प्रतियोगिताको पहिलो दिनको खेलमा ग्रसतर्फ पदमहाङ् लिम्बु अगाडि छन् । उनले ४० स्कोर गरेका छन् । यस्तै, ह्याण्डीक्याप १ देखि ८ सम्मको विधामा सिद्धान्त सापकोटा ४२ स्कोरका साथ प्रथम स्थानमा छन् भने श्याम लिम्बु ३९ स्कोर र विवेक राई ३७ स्कोरका साथ क्रमशः दोस्रो  र तेस्रो स्थानमा छन् । 

chivas golf1

यसैगरि, ह्याण्डीक्याप ९ देखि १६ सम्मको विधामा ३७ स्कोरका साथ वमप्रसाद लिम्बू प्रथम स्थानमा छन् भने दिपक मगर र युवराज तामाङ क्रमशः ३७ र ३६ स्कोरका साथ दोस्रो र तेस्रो स्थानमा छन् । 

ह्याण्डीक्याप १७ देखि २४ सम्मको विधामा दिलबहादुर गुरुङ ३८ स्कोरका साथ प्रथम स्थानमा रहदा गणेश जिमी ३८ स्कोर र प्रदिप सारडा ३६ स्कोरका साथ तेस्रो  स्थानमा छन् । 

यसैगरि, पहिलो दिनको खेल सकिदा सिनियर विधातर्फ मनबहादुर लिम्बु ३४ स्कोरका साथ प्रथम स्थानमा छन् । महिलातर्फ २९ स्कोरका साथ अर्शिया वनु ग्रसतर्फ प्रथम छिन् । यस्तै, जानवी गुरुङ ३५ स्कोरका साथ प्रथम स्थानमा रहदा सरिता ज्ञवाली १८ स्कोरका साथ दोस्रो स्थानमा छिन् । 

दोस्रो दिन (शनिबार) पुनः बाँकी ७२ जना खेलाडीहरुको खेल सम्पन्न भएपछि मात्र प्रतियोगिताको विभिन्न विधाका विजेताहरु टुंगो लाग्ने पनि आयोजक संघका उपाध्यक्ष घिसिङले जानकारी दिए । चिभास रिगलको मुख्य प्रायोजनमा पहिलोपटक प्रतियोगिता आयोजना भएको हो । चिभासले ५ बर्षसम्म प्रतियोगिता प्रायोजन गर्ने समझदारी गरेको पनि संघले जनाएको छ । 

भिडियो: