धरान: एयरपोर्ट बनाउने नाममा करिब अढाई बर्षदेखि रोक्का भएको धरान वडा नं १७ स्थित डाँडाघोपा क्षेत्रको रोक्का राखिएको जग्गाको कारोबार उपमहानगरपालिकाले फुकुवा गरेको छ । 

स्थानीय जग्गाधनीहरुबाट निवेदन आएपश्चात कार्यवाहक नगर प्रमुख अइन्द्रबिक्रम बेघाले यति इनकर्पोरेट प्रालिको नाममा भएको जग्गाबाहेक अन्य जग्गाहरुको बिक्रीवितरण सिफारिश मंगलबारदेखि फुकुवा गरेका हुन् । उनले जग्गा फुकुवाको निर्णयको पत्र वडा नं १७ को कार्यालयका साथै मालपोत र नापी कार्यालयमा पनि पठाएका छन् । 

डाँडाघोपामा एयरपोर्ट बनाउने नाममा २०८० भदौ ११ गते तत्कालिन नगर प्रमुख हर्कराज राईले जग्गा बिक्रीवितरण सिफारिश गर्न रोक्का गर्ने निर्णय गरेका थिए । यो निर्णयले प्रस्तावित एयरपोर्ट क्षेत्रमा रहेका सयौंको संख्यामा जग्गाधनीहरु मर्कामा परेका थिए । एयरपोर्ट बन्ने कि नबन्ने टुंगो नलागे पनि आफुहरुको जग्गा भने रोक्का गरिरहदा मर्का परेको भन्दै निवर्तमान प्रमुख साम्पाङलाई फुकुवा गर्न स्थानीयबासीले पटक पटक आग्रह गरेका थिए ।

साम्पाङ फिल्डमै गएर स्थानीयबासीसँग छलफल गरेपनि जग्गा फुकुवा नगरिदिदा उनीहरु रुष्ट भएका थिए । हाल कार्यवाहक प्रमुख बेघाले भने एयरपोर्ट बन्ने टुंगो नभएको र लामो समयसम्म व्यक्तिको जग्गाहरु बिना कारण रोक्का राख्नु उचित नहुने भएकोले फुकुवा गरिएको जनाएका छन् । 

डाँडाघोपामा २०६० सालतिर एयरपोर्ट बनाउने भन्दै यति इनकर्पोरेट प्रालिले नगरपालिकाको रोहबरमा स्थानीयबासीसँग सस्तो मुल्यमा जग्गा खरिद गरेको थियो । एयरपोर्ट नबने किनेकै मुल्यमा जग्गा फिर्ता गर्ने सर्तमा यतिले जग्गा खरिद गरेको थियो । एयरपोर्ट बनाउन पटक पटक सर्वे भएको र दुई दशक बितिसक्दा पनि हालसम्म बन्ने वा नबन्ने टुंगो लागेको छैन ।

यतिले खरिद गरेको जग्गाबाहेक पनि जग्गा रोक्का भएपछि स्थानीयबासी तत्कालिन प्रमुख साम्पाङसँग रुष्ट भएका थिए । पछिल्लो पटक पर्यटन मन्त्री सुदन किराती हुँदा नागरिक उड्यान प्राधिकरणले पुनः सम्भाव्यता अध्ययन गरेको थियो, र प्राधिकरणले प्राविधिकरुपमा एयरपोर्ट बनाउन नसकिने प्रष्ट पारेको थियो । त्यसपछि पनि तत्कालिन नगर प्रमुख साम्पाङले डाँडाघोपाको रोक्का भएको जग्गा फुकुवा गरेका थिएनन् । 


dadaghopa.jpeg