धरान: प्रस्तावित एयरपोर्टस्थल धरान १७ डाँडाघोपाका स्थानीयबासीहरुले २०६० सालमा यति इन्कर्पोरेटेड प्रालिलाई चलनचल्तीको भाउमा जग्गा बेच्नेहरुलाई पीडित भन्न नहुने बताएका छन् । 

एयरपोर्टबारे राय बुझ्न बिहिबार डाँडाघोपा पुगेको मेयर हर्क साम्पाङसँग आफ्ना गुनासो राख्दै स्थानीयबासीले जग्गा बेचेर पैसा लिइसकेकाहरुलाई पीडित भन्न नहुने बताएका छन् । उनीहरुले २ दशकदेखि बेला बेला आफुहरुको घरजग्गा रोकिने, घरनक्सा पास नहुने समस्याबाट आफुहरु पीडित भएको धारणा राखे । स्थानीयबासी अक्षकुमार राईले चलनचल्तीको भाउमा जग्गा बेचेर पैसा लिएकाहरु अहिले पीडित भन्ने तर २० बर्षदेखि वास्तविक पीडितहरुको आवाज कसैले नसुनेको गुनासो पोखे । 

‘पहिला जग्गा बेच्नेहरु पीडित होइन, त्यतिबेलाको चलनचल्तीको भाउ भन्दा बढी पैसा उनीहरुले लिएका छन् । तर, २० बर्षदेखि दुःख हामीले पाइराखेका छौं,’उनले भने,‘उनीहरु त पैसा पाए तर बषौंदेखि हाम्रो घरजग्गा रोक्का भयो । घरको नक्सा पास भएन, उनीहरु कसरी पीडित भए ? पीडित त यहाँ बस्ने हामी भएका छौं ।’ उनले जग्गा बेच्नेर पैसा लिनेहरुलाई मात्र उपमहानगरले पीडित भन्ने हो भने आफुहरुलाई मान्य नहुने पनि बताए ।

dada ghopa local copy

राईले आफुहरु विकास विरोधी नभएको स्पष्ट पार्दै एयरपोर्टको लागि फिजिवल छ भन्ने रिपोर्ट आएमा छोड्न तयार भएको पनि बताए । तर, नितीगतरुपमा र भौगोलिकरुपमा पनि एयरपोर्ट बन्न सम्भव छैन भन्ने भएमा जर्बजस्ती नगर्न पनि चेतावनी दिए । साथै उनले एयरपोर्टलाई चाहिने घरजग्गालाई मुआब्जा दिन अरबौं रकम कस्ले व्यहोर्ने हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताए । ‘अहिलेसम्म हामी संयमताका साथ बसिरहेका छौं । २० बर्ष बुढो भइयो, राम्रो हुन्छ भने अझै पर्खन्छौं, तर जिम्मेवारी कस्ले लिने हो ? अध्ययन टोलीले हुदैन भनेको चर्चा सुनेका छौं, के हो यथार्थ प्रष्ट हुनुपर्छ,’ उनले भने । 

स्थानीय डिल्लीसेर राईले एयरपोर्टको चर्चा शुरु भएदेखि आफुहरु पीडित भएको गुनासो गर्दै प्राधिकरणको अध्ययनले ठिक छ भन्यो भने स्थानीयलाई सट्टाभर्ना दिएर धरानमै स्थानान्तरण गर्नुपर्ने बताए । ‘ठाउँ ठिक छ भने यहाँको बासिन्दालाई मुआब्जा होइन, सट्टाभर्ना दिनुपर्छ,’उनले भने, ‘सरकारबाट ठाउँ उपलब्ध गराउनुपर्छ, हामी खुशी हुन्छौं । जति छ, त्यति नै हुनुपर्यो, व्यवस्थित हुनुपर्यो । भौतिक संरचनाको मुल्यांकनको आधारमा एलनी र नम्बारीकाले पनि पाउनुपर्यो ।’ एयरपोर्टले गर्दा डाँडाघोपामा कुनै पनि विकासका योजनाहरु आउन नसकेर आफुहरु बषौंदेखि पीडित भएको पनि उनले बताए । केही योजना माग गर्न जाँदा डाँडाघोपा भन्ने थाह पाउने बित्तिकै एयरपोर्ट क्षेत्र हो भनेर योजना नदिने गरेको उनले बताए । 

dada ghopa1

स्थानीय लिला बुढाथोकीले यतिले किनेको ७ बिघाको नाममा अहिले जग्गाधनीहरुले जनतालाई भिडाउन खोजेको भन्दै रोष प्रकट गरे । उनले ७ बिघा नगरपालिकाले लिएर किचलो समाप्त गर्नुपर्ने बताए । उनले स्थानीयले जग्गा नदिने भनेर अठोट गरेको खुलाउदै अन्तिममा दिनुपर्ने भए पनि राज्यले जग्गा नापेर जस्ताको तस्तै र घरको पनि क्षतिपूर्ति दिनुपर्ने बताए । ‘धरानभित्रै जग्गा नापेर जस्ताको तस्तै र घरको पनि क्षतिपूर्ति दिनुपर्छ । हाम्रो सल्लाहमा, सहमतिमा अगाडि बढाउनुपर्यो,’उनले भने,‘नगरले हामीलाई हेपेको छ, विकास ल्याउनुपर्छ । बाटो पनि खराब छ । यहाँ विकास आउनुपर्छ ।’

अर्का स्थानीयबासी सुवास राईले एयरपोर्टको लागि यतिले खरिद गरेको ७ बिघाभन्दा एक इञ्च पनि जग्गा नदिने निर्णय डाँडाघोपाबासीले गरेको सुनाए । उनले आफुहरुलाई विकास विरोधी भनेकोमा असन्तुष्टी प्रकट गर्दै मेयर साम्पाङले आफ्नो घरजग्गा जोगाउन मदन भण्डारी राजमार्ग बाइपास गराउन आन्दोलन गरेको स्मरण गराउदै भने,‘त्यसो हो भने त उहाँ (मेयर) पनि विकास विरोधी होइन ?’

भिडियो: