धरान: सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार मनोज भट्टराईले अर्को चुनावमा पानीको मुद्दा लिएर भोट माग्न नपर्ने गरि धरानको खानेपानी समस्या दीर्घकालिनरुपमा हल गर्ने बताएका छन् ।
आइतबार धरानको भानुचोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले यस्तो प्रतिवद्धता जनाएका हुन् । ‘अर्को चुनावमा खानेपानीको नाममा भोट भाग्न नपर्ने गरि केन्द्रबाट बजेटको पहल गरेर दीर्घकालिनरुपमा समाधान गछौं,’ भट्टराईले भने ।
उनले सुनसरी १ मा पर्ने धरान, रामधुनी र बराहक्षेत्रका वडाहरुलाई जोड्न सडक पुर्वाधार, पर्यापर्यटन र धार्मिक पर्यटनको विकास तथा प्रर्वद्धन गर्ने पनि योजना सुनाए । ‘सुनसरी १ मा पर्ने रामधुनीको २ वटा वडा र बराहक्षेत्रको ५ वटा वडाले अन्याय भएको, विकासको प्रवाहमा समाहित नभएको अनुभूति गरेको छ । मैले त नारा नै बनाएको छुँ, म भुगोल र मन जोड्न आएको हुँ भनेर,’ उनले भने,‘म साच्चै नै तीन वटा पालिकाको भुगोल र मनहरु जोड्नेछुँ, त्यहाँका जनताले न्याय भएको महशुस गराउनेछुँ ।’

धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको पुर्वाधार विकास, सेवासुविधामा प्रभावकारीता तथा गुणस्तरवृद्धि गर्न, शिक्षामा धरानका विद्यार्थीलाई कोटा उपलब्ध गराउन र प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन पहल गर्ने पनि उम्मेद्वार भटट्राईले बताए । धरानलाई साँस्कृतिक, शैक्षिक र पर्यटनको हबकोरुपमा विकास तथा प्रर्वद्धनमा आफ्नो निरन्तर पहल हुने उनले बताए ।
धरानको विकास र समृद्धिमा धरान–लेउती सुरुङमार्ग अतिआवश्यक भएकोले यसलाई राष्ट्रिय गौरवको आयोजनाकोरुपमा अघि बढाउन आफ्नो प्राथमिकता रहने पनि भट्टराईको भनाई थियो । ‘धरानलाई अब पनि पुर्वीपहाडी जिल्लाको व्यापारिक केन्द्र र सपनाको सहर बनाउन चाहन्छौं,’ उनले भने,‘सहकारी पीडितहरुको पैसा फिर्ता गराउन पीडितहरुको न्यायको लागि सदनभित्र आवाज पुर्याउनेछुँ।’
भट्टराईले धरानको बजार भएर जाने कोशी राजमार्ग मापदण्ड विवादलाई पनि समाधान गरेर जाने प्रतिवद्धता जनाएका छन् । जनताको घरजग्गा नै नरहने गरि निर्धारण भएको मापदण्ड घटाएर सधैको लागि विवाद समाधान गर्ने उनले बताए । यस्तै, सर्दुजलाधारको नाममा सट्टाभर्ना नदिइएको र जलाधारमा पनि नपर्ने घरजग्गा रोक्का भएकोमा सिमांकन गरेर जलाधारमा पर्ने र सट्टाभर्ना पाएको जग्गा सरकारीकरण गर्ने साथै जलाधारमा नपर्ने जनताको घरजग्गा फुकुवा गराउन पहल गर्ने पनि उनले बताए ।
भिडियो:
भिडियो:







