धरान: अन्तर स्कुल मेजर श्रवण कुमार लिम्बु मेमोरियल डिपो बास्केटबल रनिङ कप–२०८१ प्रतियोगिताको तेस्रो सँस्करण यही भदौ अन्तिम साता हुने भएको छ ।

डिपो माविको आयोजता तथा धरान बास्केटबल सघ र सुनसरी बास्केटबल संघको संयुक्त संयोजनमा भदौ २७ देखी ३१ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिता धरान–१८ स्थित डिपोटको आफ्नै बास्केटबल कोर्टमा हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

विद्यालयस्तरबाटै बास्केटबल खेलको विकास तथा प्रर्वद्धन गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको आयोजकको भनाई छ । तेस्रो सस्करणको प्रतियोगितामा सुनसरी, झापा, मोरङलगायत करिब १६ वटा विद्यालयहरुको सहभागीता रहने पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक राजकुमार राईले जानकारी दिए ।  

basket1

प्रतियोगितामा कक्षा १० सम्मका विद्यार्थीहरुले मात्र सहभागीता पाउनेछन् । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, विधागत पुरस्कारतर्फ मोस्ट भ्यालुएवल  प्लेयर र हाइ स्कोररले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । 

प्रतियोगिता नकआउटको आधारमा हुने बास्केटबल प्रशिक्षक विकास चाम्लिङले बताए । दोस्रो सस्करणको विजेता धरानको होलिल्याण्ड इन्टरनेशल स्कुल रहेको थियो । दिबगत मेजर श्रवण कुमार लिम्बु १६ वर्षसम्म विद्यालयको व्यावस्थापन समितिको अध्यक्षमा रहेर योगदान पुर्याएका थिए । उनको २०७८ श्रावण १५ गते निधन भएको थियो । स्वर्गीय लिम्बुको नेतृत्वमा डिपो स्कुललाई प्लस टु स्तरबृद्धि गर्दै डिपो आदर्श बहुमुखी क्याम्पस समेत सञ्चालनमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खड्ग  समशेर लिम्बुले बताए ।