धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति र रजिष्ट्रार पद रिक्त भएको लामो समय वितिसकेको छ । दुई प्रमुख पदाधिकारी नहुदा प्रतिष्ठानको महत्वपुर्ण कार्यहरु प्रभावित छ ।

सरकारले उपकुलपति नियुक्ती गर्ने भनेर झण्डै दुई महिनाअघि प्रक्रिया अघि बढाएको थियो । सहकुलपति तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल संयोजक भएको तीन सदस्यीय समितिले ३ जनाको नाम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सिफारिश गरेको पनि झण्डै तीन साता पुग्यो । तर, उपकुलपति नियुक्ती भएको छैन । गत असार २६ गते घुस लिएको ८ लाखसहित तत्कालिन उपकुलपति प्रा.डा.राजकुमार रौनियारलाई अख्तियारले पक्राउ गरेर भ्रष्टचार मुद्दा दायर गरेको थियो । त्यसयता प्रतिष्ठान उपकुलपतिविहिन अवस्थामा छ ।

प्रतिष्ठानको चार पदाधिकारीमध्ये उपकुलपति र रजिष्ट्रार पद पनि रिक्त छ । रेक्टर डा.खनालले कार्यवाहक उपकुलपति र रजिष्ट्रारको पनि अतिरिक्त जिम्मेवारी वहन गर्नुपरिरहेको छ । एक व्यक्तिले तीन पदाधिकारीको जिम्मेवारी वहन गर्नुपर्दा प्रतिष्ठानको महत्वपुर्ण काम कार्यवाही र निर्णय प्रक्रियाहरुमा असर पुगिरहेको प्रतिष्ठानस्थित नर्सिङ, प्राविधिक तथा प्रशासनिक समन्वय समितिका संयोजक महेश्वर राई बताउँछन् । ‘एउटै व्यक्ति रेक्टर, भिसि र रजिष्ट्रार हुँदा कामको बोझ हुन्छ । सबैको आआफ्नै काम, कर्तव्य र क्षेत्राधिकार छ,’संयोजक राईले भने,‘यसले प्रतिष्ठानलाई गम्भीर असर परिरहेको छ, त्यसैले सरकारले भिसि मात्र होइन रजिष्ट्रार पनि तत्काल नियुक्ती गर्नुपर्छ ।’

guru-khanal

वीपी प्रतिष्ठानका कार्यवाहक उपकुलपति प्रा.डा.गुरु खनाल ।

प्रतिष्ठानमा रेक्टरलाई एकेडेमिक, रजिष्ट्रारलाई प्रशासनिक र अस्पताल निर्देशकलाई अस्पताल प्रशासनको जिम्मेवारी हुन्छ । चार जना पदाधिकारीहरुबीच महत्वपुर्ण बिषयमा गम्भीर छलफल गरेर निर्णय लिनुपर्ने हुन्छ भने पदाधिकारीहरुले रायसहित फाइल पेश गर्नुपर्ने हुन्छ । तर, अहिले एक जना पदाधिकारीले तीन जिम्मेवारी लिएर काम गर्नुपर्दा निर्णय प्रक्रियामा ढिलाई हुन्छ । कार्यकारिणी समितिले पुर्णता पाएको छैन । नियमावलीमा भएको प्रावधानअुनसार चिकित्सक, कर्मचारीहरुको वृद्धिविकासमा पनि असर परेको छ भने प्रतिष्ठानको समग्र विकास अवरुद्ध भएको चिकित्सा तथा दन्तचिकित्सक शिक्षक कल्याण समाजका अध्यक्ष डा.विष्णु पोख्रेलले बताए ।

‘आधिकारिक व्यक्ति को हो भन्ने अन्योलले गर्दा कसैले रिस्क लिन चाहदैनन् । यसले प्रतिष्ठानको भौतिक, शैक्षिक, आर्थिक सबै हिसाबले विकास अवरुद्ध छ,’डा.पोख्रेलले भने,‘संस्था धरासायी हुने अवस्थामा पुग्यो । सरकारले वीपीको उद्दार गर्ने हो भने चाडै नियुक्ती गर्नुपर्छ । जसले वीपीलाई बुझेको छ, उसलाई ल्याउनुपर्छ ।’ प्रतिष्ठानका कार्यवाहक उपकुलपति डा.गुरु खनाल पनि एउटा व्यक्तिले तीन पदाधिकारीको जिम्मेवारी सम्हाल्दा अफ्ठेरो भएको स्वीकार गर्छन् । उनी पनि जति सक्दो छिटो उपकुलपति नियुक्ती गर्न सरकारलाई आग्रह गर्छन् । ‘एउटा व्यक्ति भिसि, रेक्टर र रजिष्ट्रारको काम गर्नुपर्दा अफ्ठेरो हुन्छ, ठुलो निर्णय लिन नि समस्या हुन्छ,’डा.खनालले भने,‘जति छिटो नियुक्ती भयो, त्यति सहज हुन्छ ।’